भोजपुर /  नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेका छन् ।

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको हो । नेपालकै सय गन्तव्यभित्र पर्न सफल प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटक पुगेका छन् । 

पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने भएकाले पर्यटकको आकर्षकमा परेको  हो ।

मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएकाले यहाँ आउने पर्यटकको सहजताका लागि आवश्यक काम गरिरहेको र प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए ।

यहाँ किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरुले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिने भएकाले पर्यटक यो पदमार्गमा पुग्ने गरेका छन् । यो पदमार्ग नेपालका सबै हिमाल एकै ठाउँबाट हेर्न सकिने स्थानका रुपमा परिचित छ । किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो । 

करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको छ । किरात राईको संस्कृति झल्कने चिण्डो आकारका १५ वटा पोखरी निर्माण गरिएको छ । पर्यटनलाई माथि उकास्न आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकको आवमगन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगतरुपमा अनुगमन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

'गाउँपालिकाले पयर्टकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ । तीन महिनाको अवधिमा एक लाख पर्यटक भित्रिएका छन्’, अध्यक्ष बस्नेतले भने, ‘पदमार्गमा आउने पर्यटकको सङ्ख्या बढेसँगै हामीले यहाँको व्यवस्थापनमा ध्यान दिएका छौँ । गाउँपालिकाले सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ ।’

अनुगमनपश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत गर्ने, सहज बास बस्नका लागि घरबास होमस्टेलाई व्यवस्थित गर्ने, पानीको व्यावस्थापन गर्नेलगायत काम गरिने अध्यक्ष उनको भनाइ थियो । बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने गरेको सावा घरबास (होमस्टे) हाँस पोखरीका सञ्चालक याङमीयाङ राईले बताए । 1702307111827

प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालमाजस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायिकरण गर्न यो पदमार्गले सहयोग पुर्यापउने गाउँपालिकाले जनाएको छ ।

मुन्दुम पदमार्ग राम्रो पर्यटकीय गन्तव्य रहेकाले यसले गाउँपालिको आर्थिक विकासमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । घुम्न आउने पर्यटकको सहज यात्राका लागि गाउँपालिकासँगै सबै पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘यो पदमार्ग प्राकृतिक हिसाबले निकै सुन्दर छ’, प्रजिअ घिमिरेले भने, ‘पर्यटकको आवागमन बढेकाले उनीहरुको सुरक्षा र सहज आवतजावतका लागि ध्यान दिन आवश्यक छ । स्थलगत अनुगमनका क्रममा केही सुधार गर्नुपर्ने काम पनि देखिएको छ । हामीले आउने पाहुनाहरुको सहज यात्राका लागि ध्यान दिएका छौँ ।’

टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताउनु भयो । आउने पर्यटकहरुलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उहाँ भनाइ छ । यो केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थानहरु, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरुको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनु भयो ।