सुनसरी / धरान १३ मा रहेको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् ।

काठमाडौँबाट साथी धनरत्न महर्जनका साथमा उद्यान घुम्न पुग्नुभएका राजेन्द्र राई खेर गएको ठाउँको सदुपयोग गरेर आकर्षक उद्यान निर्माण गरेको थाहा पाएपछि औधी खुसी भए । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उहाँका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमुना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्त्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ । उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् ।श्रम संस्कृति उद्यान आआर गार्डेन

उद्यानका ठाउँ ठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुन्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् । उद्यान युवापुस्ताका लागि साथीहरूसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ ।

उद्यान निर्माण हुनभन्दा पहिला सर्दु खोला पुल छेउमै बिपी उद्यान र ओशो उद्यान निर्माण गरिएका थिए । धरानमा पुराना रङ्गकर्मी तथा निर्देशक खगेन्द्र पन्धाक र गायक कञ्चन थलङ यो क्षेत्र पदयात्राका लागि पनि उपयुक्त भएको बताउनुहुन्छ ।

धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षारोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छदेखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ । उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् । उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम, दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन् ।

स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण गरिएको छ । दाताको ११ लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो । चौतारामा सुस्ताउँदै गरेकी भेटिनुभएकी  बेलायतबाट आउनुभएकी देविका राई (लिम्बू) आफूले सानो छँदा देखेको खोलाको बगर र झाडीमा अहिले ढकमक्क फूल फूलेको र उद्यान बनेको देखेर हर्षित हुनुहुन्छ ।