वराहक्षेत्र  / साता दिनमै लाखौं धार्मिक तीर्थयात्री वराहक्षेत्र आइपुग्छन् । तर, दशकौंदेखि आउने भक्तजनले यहाँको बाटोको हालत उस्तै देख्छन् । वराहक्षेत्रमा बाटोको समस्या ज्यूँका त्यूँ रहेको दर्शनार्थीहरूले गुनासो गर्ने गरेका छन् । 

‘वराहक्षेत्रको मुख्य समस्या नै सडक पूर्वाधारको हो’ संरक्षण मञ्चका सचिव घिमिरेले भने, ‘वडा र नगरले मात्रै यो समस्याको समाधान गर्नसक्लाजस्तो लाग्दैन, केन्द्रीय सरकारको कानमा कुरो पुगेको छैन ।’

बाटोको समस्यासँगै यहाँ गाडी पार्किङको समस्या पनि उत्तिकै छ । भक्तजनलाई बास बस्नका लागि भौगोलिकरूपमा समेत समस्या भएको स्थानीय बताउँछन् । वराहक्षेत्र ठाउँ सानो छ । लाखौं भक्तजन साता दिनमै आउँछन् । खुला ठाउँ कहीँ छैन । ‘यहाँको खुल्ला जग्गा एउटा बगर हो, मेलाका बेला बगर भरिन्छ, टेन्टहरू पनि लगाउन सकिन्थ्यो तर, अन्य खाली ठाउँ छैन’ संरक्षण समितिका सचिव घिमिरे भन्छन्, ‘कोका खोलाको फुटबल ग्राउण्डदेखि सम्याएर फिल्ड बनाउनसके भक्तजनलाई विश्रामस्थल बनाउन सकिन्थ्यो भन्ने लाग्छ ।’

अरूबेला खाली हुने यहाँका होटल एकादशीलगायतका मेलामा भरिभराउ हुन्छन् । आगन्तुकहरूले लज पाउने गुन्जायस रहँदैन । वराहक्षेत्र पुगेर कहाँ बस्ने भन्ने समस्या हुन्छ । धेरै भक्तजन आफैले ओढ्ने ओछ्याउने ल्याएर बगर र बाटामै सुत्छन् । स्थानीय सरकारले मेला लाग्नुअगावै ठूला–ठूला पण्डाल बनाएर भक्तजनलाई बस्ने व्यवस्था मिलाउन सक्छ । तर, स्थानीय सरकारले भेउ पाउन सकेको छैन ।

‘केन्द्र सरकार नै लागेर काम गर्नुपर्ने देखिन्छ, यहाँ वडा र नगरले मात्र पार लाउन सक्दैनन्’ सचिव घिमिरे भन्छन्, ‘भारतले हरिहर र कुरुक्षेत्रलाई कसरी चिनाएको छ ? तर नेपालले धर्तीको पहिलो धामलाई चिनाउन सकेको छैन ।’ 

काँकडभिट्टादेखि मात्र नभएर पूर्वदेखि पश्चिमसम्म नेपाल यातायात व्यवसायीले वराहक्षेत्रका यात्रु बोक्छन् । साता दिनमै लाखौं यात्रु आउने यस क्षेत्रबाट आर्थिक लाभसमेत लिइरहेका छन् तर, स्थानीय क्षेत्रले भने कसरी लाभ लिने भन्ने नीति निर्माण गर्न नसकेको स्थानीयको गुनासो छ । 

‘भारतीयहरू कुल देवता मानेर यहाँ पूजा अर्चना, भाकल गर्न आइरहेका छन्, तिनका भावी पिँढी पनि आउने गरी सरकारले योजना निर्माण गर्नुपर्छ’ सचिव घिमिरे भन्छन्, ‘एउटा संस्थाको मात्र व्यवस्थापनले के कति नै हुन्छ र ?, पहिले सात किलोमिटर अगाडि पर्ने चतरा बजारबाटै मेला लाग्थ्यो, यसपालि मन्दिर क्षेत्रमा मात्रै मेला लाग्ने अवस्था आयो ।’ 

यस वर्ष वराहक्षेत्र संरक्षण मञ्चले मेला व्यवस्थापनको जिम्मा लिएको थियो । मेलाका लागि बजार व्यवस्थापन, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको थियो । मेलाका लागि संरक्षण मञ्चले विभिन्न संस्थालाई जिम्मेवारी तोकेको थियो । स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र र इलाका प्रहरी कार्यालय चतरा साथै महेन्द्रनगरलाई तोकेको थियो । 

मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको घेराबेरा, उज्यालोका लागि विद्युत्को व्यवस्थापनलगायतका काम भएका थिए । वराहक्षेत्र नगरपालिकाले मेलाका लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर शृङ्गार गर्ने र नियमित सरसफाइ गर्ने काम गरेको थियो । 

मेलामा नेपालका विभिन्न स्थानसँगै बङ्गाल, सिक्किमका साथै पूर्वोत्तर भारतका विभिन्न स्थान र भुटानका केही स्थानबाट समेत तीर्थालु आएका थिए ।