म्यादी / चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ । घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए ।

उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ । पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् ।

घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए । 

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन् ।