सुनसरी / झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ ।

पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।

वि.सं.२०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते (बालाचतुर्दशीका दिनसम्म) नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताउनुभयो ।

यस वर्षको मेलामा नेपाल, भारत र भुटानका चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा रहेको छ ।

सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको तस्बिरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

उहाँका अनुसार अहिले धाम परिसरमा रहेको ठुलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जलि योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रूपमा आउनुहुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आचार्य बालकृष्णसहित पतञ्जलि योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ ।

धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ थियो । उहाँका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठान क्रममा गङ्गा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्नेलगायत प्रमुख आकर्षण रहने बताउनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित गुरुकुल र अन्नदाता अक्षयकोष वृद्धिका लागि धाम समितिले दातासँग स्वैच्छिक सहयोगको आह्वान गरेको छ ।

धामका प्रचार संयोजक रमेश त्रिखत्रीका अनुसार अन्नदाता र गुरुकुल अक्षयकोष सञ्चालनका लागि एक करोडका दरले दुई अलग-अलग अक्षयकोष बनाउने लक्ष्य रहेको छ ।