धनकुटा / धनकुटाको पर्यटकीय स्थल राजारानी ताललाई  चौबीसे गाउँपालिका २०८०/८१ को पर्यटन वर्ष बनाएर अगाडि बढ्ने योजना रहेको छ ।

धनकुटाको चौबीसे गाउँपालिकाले २०८०/८१ लाई चौबीसेका पर्यटकीय गन्तव्य बनाएर अगाडि बढने योजना रहेको छ । जसमा धनकुटाको मुख्य घुम्न लायक ठाउँ राजारानी ताल रहेको छ ।राजारानी बजारको करिब १ सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ ।

ताल, झरना र प्राकृतिक मनोरम दृश्यका लागि प्रख्यात यो क्षेत्रमा पाट्टफुट्ट बाह्य पर्यटक पनि पुग्छन् । बाह्रै महिना चिसो मौसम भइरहने राजारानी सानो उपत्यका हो ।

राजा र रानी छुट्टाछुट्टै पोखरी रहेको राजारानीमा रानी पोखरीमा मात्र पानी छ राजा पोखरी सुकिसकेको छ । रानी पोखरीमा पर्यटक आकर्षित गर्न थुप्रै संरचना निर्माण गर्नुका साथै बोटिङको पनि व्यवस्था गरिएको छ । जलविहारको छुट्टै मज्जा लिन पनि पर्यटकहरु राजारानी जाने गर्छन् । राजा पोखरी निर्माणको क्रममा रहेको चौबीसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताए । 

गाउँपालिकाले पर्यटक आकर्षित गर्न राजरानी क्षेत्रको योजनागत विकास अघि बढाएको छ । विभिन्न निकायको सहयोगमा स्थानीयले चारैतिर भ्यु-टावर बनाएको अध्यक्ष  लिम्बूले बताए । रानी पोखरीको अग्रभागमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । यस क्षेत्रमा हिजोआज दैनिकजसो तराईबाट वनभोजका लागि मानिस जाने गर्छन् ।राजारानी ताल

राजारानीमा झरनाको मनोरम दृष्यावलोकन पनि गर्न सकिन्छ । झ्ट्ट हेर्दा तेह्रथुमको ह्यातुङ झरना जस्तै लाग्ने राजारानीको झरनाले जो कोहीको मन लोभ्याउँछ । रानी पोखरीबाट गएको पानी झरेर झरेको बनेको हो ।

राजारानी जान धरान हुँदै भेडेटार पुगेपछि पूर्वतर्फ लाग्नुपर्छ । भेडेटारबाट पर्यटकीय क्षेत्र नाम्जे हुँदै कन्यापोखरी र डाँडाबाजारबाट राजारानी पुग्न सकिन्छ । भेडेटारबाट करिब १ घण्टाको सवारी यात्राबाट राजारानी पुग्न सकिन्छ ।

चौबिसे गाउँपालिकामा चारैतर्फ रमाइला डाँडाहरूले घेरिएर रहेको सानो उपत्यका आकारको बनावट भएको ठाउँलाई राजारानी भनिन्छ । यस उपत्यकामा रहेका २ ओटा ताललाई राजारानी ताल भनिन्छ । यिनै तालको नामबाट यो ठाउँको नाम राजारानी रहेको हो । यहाँ मावरक (आमापोखरी) र पावरक (बाबु पोखरी) भन्ने २ ओटा ताल थिए । यी तालमा खदम राजा र खदम रानी भनिने शक्तिशाली राजारानी बस्ने गर्दथे । वि.सं. १८६२ मा ताल फुटेर पानी बाहिर गएपछि खदम राजा र खदम रानी पाँचथरको याङ्वरकमा गई बसेको भन्ने किंवदन्ती रहेको छ ।