काठमाडौं / ठूला होटल संरचना सञ्चालनमा आउँदा मागको तुलनामा आपूर्ति बढी भएको होटल व्यवसायीले बताएका छन् । यसले एक तिहाइ मात्र अकुपेन्सीमा होटलहरु चलिरहेको व्यवसायीको भनाइ छ ।

मंगलबार होटल संघ नेपालका अध्यक्ष विनायक शाह तथा पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग भेट गरी मुलुकको पर्यटन गतिविधिका बारेमा छलफल गरेका छन् ।

सो अवसरमा अध्यक्ष शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भएपनि पछिल्लो समय धेरै ठूला होटल संरचना सञ्चालनमा आउने क्रम बढेकोले माग भन्दा आपूर्ति बढी भएको बताए । यसले क्षमताको एक तिहाइ अकुपेन्सीमा होटल सञ्चालनमा आउँदा सञ्चालन घाटामा रहेको उनको भनाइ छ ।

अध्यक्ष शाहले विदेशी पर्यटक नेपाल भ्रमणका लागि ललायित र सोधपुछहरु बढ्दै गएको परिप्रेक्ष्यमा पूर्वाधार जस्तै राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारणले नेपाल आउने पर्यटकहरु अन्यत्रै जाने गरेको बताए ।

उनले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने बताए । यसतर्फ राज्यको ध्यान जानुपर्ने व्यवसायीको माग छ । उनले विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउँदै यस तर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त एवम् प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय रहन जोड दिए । शाहले पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरे । उनले मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानी एवम् पर्यटनमैत्री वातावरण बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए ।