संखुवासभा / संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ ।
यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई पर्यटकीय र आर्थिक रुपमा पनि अत्यन्तै महत्वको साथ हेरिएको छ ।
यहाँको प्रमुख आकर्षणको केन्द्रको रुपमा राष्ट्रिय फुल लालीगुँरासको राजधानी मानिने तिनजुरे, मिल्के, जलजले लालीगुँरास संरक्षित क्षेत्रलाई लिइएको छ । यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका लालीगुँरासमध्ये २८ प्रजातिका लालीगुँरास यहाँ पाइन्छन् । तर, भरपर्दो सडक सञ्जालको विस्तार नहुँदा चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।
संखुवासभामा विभिन्न धार्मिकस्थलका साथै मनोरम प्राकृतिक सौन्दर्यको मजा लिन सकिने धेरै ठाउँहरु छन् । विश्वकै पाँचौं अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज पनि यहीं पर्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर बस्ने ठाउँ पनि संखुवासभा नै हो ।
साथै अरुण नदीको मनमोहक दृश्य, संखुवासभाको नुमस्थित भाटभटिनी डाँडा जहाँबाट मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने स्थानीयहरु बताउँछन् । त्यस्तै देशभरिकै सबैभन्दा बढी जंगल, जलस्रोत, विभिन्न जनावर र थरिथरिका पुतलीहरु पाइने संखुवासभा जिल्लामा धेरै ताल र पोखरीहरुसमेत रहेको छ ।
तर, यत्तिका पर्यटकीय महत्वका ठाउँहरू भएको संखुवासभालाई जोड्ने सडक सञ्जालको अवस्था भने यस्तो छ । आन्तरिक मात्रै होइन बाह्य पर्यटकका लागि पनि छानी–छानी घुम्ने ठाउँहरु छन् संखुवासभामा । डक र होटलको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेको संखुवासभाभित्र अवस्थित पर्यटकीयस्थलहरुबाट राज्यले फाइदा लिन सकेको छैन ।
प्राकृतिक, धार्मिक र सांस्कृतिकलगायतका विभिन्न सम्भावना हुँदाहुदै पनि राज्यको उपेक्षाका कारण संखुवासभालाई पर्यटकीय गन्तव्य बनाउन नसकेको स्थानीयको गुनासो छ । पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
सडक सञ्जाल र होटल व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने मात्रै पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिने पर्यटन संखुवासभाका होटेल व्यवसायीहरु बताउछन् ।
विदेशी पर्यटक तथा आन्तरिक पर्यटकहरुले काठमाडौं र विराटनगरबाट तुम्लीङटारसम्मको हवाई यात्रा गरी केही घण्टाको सवारी यात्रा गर्दै मकालु हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिने राम्रो गन्तब्यको रुपमा बनाउन सकिन्छ । तर प्रचारप्रसारको अभावका कारण संखुवासभाका पर्यटकीयस्थलहरु भने अहिले ओझेलमा परेका छन् ।