काठमाडौं / पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ । 

सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् । नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् ।

 यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजारनजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायत ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् ।

 यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन ।

तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ ।

 राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व-पश्चिम, कालीगण्डकी करिडोरले चीन-भारत र सालझन्डी-ढोरपाटनले तराई-पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटनयामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले जनाए ।

केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उनको भनाइ छ ।

 नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार गरी पर्यटक भित्र्याउन स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताउँछन् ।  बजारनजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुमनाम नै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ ।

 बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृंखला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उनले बताइन् । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उनी बताउँछिन् ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताए । पहिले-पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उनको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उनले जनाए । खाने र बस्ने सुविधाका लागि होटेल तथा रेस्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउँछन् ।


चर्चित भएर पनि ओझेलमा


बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायत दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् ।

 त्यहाँसम्म पुग्ने सडक तथा पैदलमार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताउँछन् । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उनको भनाइ छ ।

स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको जनाए । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उनी बताउँछन् । पहिले कहिलेकाहीँ पैदलयात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउन सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको उनले जनाए ।

तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ । रासस