सुनसरी / इलामको सन्दकपुर गाउँपालिकामा हुँदै आएको कागे मेला यस वर्ष उत्साहाका साथ सम्पन्न भएको छ । 

कोरोना महामारीका कारण सुस्त भएको ऐतिहासिक कागे मेलाले यस वर्ष ग्रामीण क्षेत्रको अर्थतन्त्र नै चलायमान बनाएको थियोे । इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका ५ को जमुनामा आयोजना हुने कागे मेलाले तिहारको बहार लिएर आउँछ र कागतिहारको दिन समापन हुन्छ ।

विगत ३७ वर्षदेखि हरेक वर्ष ठूलो फुटबल प्रतियोगिता र केही वर्ष अघिदेखि अन्तर्राष्ट्रिय आमन्त्रणसमेतमा फुटबल प्रतियोगिता कागे मेलामा हुँदै आएको छ । कागे मेला शुरुवाती दिनमा भानुदय खेलमैदानबाट शुरुवात भएको थियो । तर अहिले मेला नयाँ ठाउँमा लागेको छ । स्थानीय तोयानाथ भट्टराईले जुमनाको मुटुमा रहेको आफ्नो १४ रोपना जग्गा दान दिएपछि मैदान बनाएर त्यहि मैदानमा उल्लासका साथ मेला आयोजना गरिएको थियो ।

गाउँपालिकाले दान दिएको जग्गामा थप १० रोपनी जग्गा खरिद गरेर मैदान बनाएर कागे मेला र फुटबल प्रतियोगिता एक साथ हुँदै आएको छ । खेल मैदान ढापपोखरीको काखैमा छ । महिलाहरुको प्रतियोगिता कम हुने अवस्थामा कागे मेलाले बेला बेला महिलाहरुको फुटबल प्रतियोगितालाई पनि प्रोत्साहित गर्दै आएको छ । बेला बेला मैदानमा महिला र पुरुषतर्फ दुवैको फुटबल प्रतियोगिता हुने गरेपनि यस वर्ष पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

माइभ्याली गोल्डकपपछि इलामकै प्रतिष्ठित यस प्रगियोगिताबाट जन्मिएका छिरिङ गुरुङ, दर्शन गुरुङ, लोकबन्धु गुरुङजस्ता खलाडीले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका छन् । जसका कारण कागे मेलाले नेपाली फुटबल खेलमा योगदान गरेको सन्दकपुर ५ का वडा सदस्य कुमार गुरुङले बताए ।

 नजिकैको ढापपोखरी, हरियाली चियाबारी, वरिपरिका डाँडाकाँडा र जंगलको चिसो हावामा रमाउँदै हजारौले यस वर्षको कागे मेलाबाट मनोरञ्जन लिएका छन् । कागे मेलाको नयाँ मैदानका साथ धापपोखरीले पनि मेलालाई साथ दिएको हो । स्थानीयले नै अनुदानमा दिएको ५५ रोपनी जग्गामा अहिलो धाढपोखरी पर्यटकीय गन्तव्य बनेको छ ।

ढापपोखरीमा पहिले बोटिङको सुविधा भए पनि अहिले त्यो सुविधा छैन । कागे फुटबल प्रतियोगितामा नेपाल र भारतका फुटबल क्लबहरुको सहभागिता हुन्छ । ढापपोखरी अनि चियाबारीमा यस वर्षको हजारौँ पर्यटकहरु रमाएका छन् । १० दिनसम्म लागेको मेलामा १० हजार बढी पर्यटकहरुको उपस्थिति रहेको वडाअध्यक्ष यज्ञ गुरुङले बताए ।