काठमाडौं / म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ ।

 बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर)अन्तर्गत पर्ने रुप्से झरनामा रमाउन देशका विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढेको हो । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा समय बिताउने गरेका छन्।

मोटरसाइकल र निजी सवारी तथा भाडाका सवारीसाधन हुँदै मुस्ताङ आउनेजाने पर्यटकको रोजाइमा रुप्से झरना पर्ने गरेको छ। गत वर्ष आएको भीषण बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो। अग्लो पहाडबाट खस्ने यस झरनामा पर्यटकले तस्वीर खिचाउने र टिकटक बनाउने गरेका छन्।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन्। रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन्। पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन्।

अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने जानकारी दिए। झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोको बलि चढाउने गर्छन्। झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।