काठमाडौं / सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ। सन् २०२२ को यही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए।

बोर्डको तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० जना पर्यटक नेपालमा भित्रिएका छन् । अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट आठ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, पर्यटक भित्रिए। यस्तै जर्मनीबाट पाँच हजार ९११, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटालीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ ।

पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक नेपालमा भित्रिएका थिए । यो सन् २०२१ को तुलनामा ३०९.७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६.९२ प्रतिशत धेरै हो । सन् २०२२ मा सबैभन्दा बढी भारतीय पर्यटक आएका थिए। त्यसबेला २ लाख ९ हजार १०५ जना भारतीय पर्यटक नेपाल आएका थिए ।

अहिले सिजन नै भएकाले अझै विदेशी पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले कोभिड १९ को महामारीपश्चात् नेपालमा विदेशी पर्यटकको संख्या बढ्दै गएको बताए ।