काठमाडौं / पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीयस्तरमा आयआर्जन र रोजगारी सिर्जना गर्न सामुदायिक वनमा पर्या–पर्यटन प्रवर्द्धन थालिएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जैविक विविधताको संरक्षणसँगै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय गन्तव्यको विकास गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयका प्रवक्ता घनेन्द्रबहादुर खनालले गत आवमा प्रदेशभित्रका नौ वटा सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको बताए । “यस कार्यक्रमबाट पर्यापर्यटन प्रवद्र्धनसँगै वनको दिगो व्यवस्थापन र संरक्षणमा टेवा पुगेको छ”, उनले भने, “स्थानीय उपभोक्तालाई उद्यमशील बन्न पनि यसले प्रेरित गरेको छ ।”

मन्त्रालयको वार्षिक बजेट र कार्यक्रमअन्तर्गत छनोट भएका सामुदायिक वनले पर्या–पर्यटन सञ्चालन गर्ने गरेको प्रवक्ता खनालले बताए । उनका अनुसार हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा सो कार्यक्रम सञ्चालन भइरहेको छ । पर्या–पर्यटनअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र हरित उद्यान, पदमार्ग निर्माण, पोखरी संरक्षणलगायत कार्य हुँदै आएका छन् ।

वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवर्द्धन गरी पर्या–पर्यटनका गतिविधि सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पर्या–पर्यटन प्रवर्द्धन सुरु भएपछि सामुदायिक वनमा आम्दानीको नयाँ बाटो खुलेको बताए ।

सामुदायिक वनले समूह, सहकारी, निजी क्षेत्रसँग साझेदारीमा पनि पर्या–पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको केन्द्रीय सदस्य लामिछानेले बताए । “अहिले घुम्ने संस्कृति बढिरहेका बेला पर्या–पर्यटन पनि देशको समृद्धिका लागि एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ”, उनले भने, “पर्या–पर्यटनमा लगानी र क्षमता विकासमा राज्यले जोड दिनुपर्ने उनको भनाइ छ ।