झापा / झापाको दमक नगरपालिका- ३ स्थित टुकुरेमा बन्दै गरेको नेपालकै सबैभन्दा ठुलो भ्यू टावर निर्माण गरिएको छ । निर्माण सम्पन्न भईनसक्दै आन्तरिक पर्यटकहरु आन थालेका छन् । भ्यू टावर ठडिएपछि फोटो खिच्नका लागि पर्यटकहरु आउन थालेका हुन् ।

२०७२ सालमा दमकमा नेपालकै सबैभन्दा अग्लो भ्यू टावर बनाउने योजना सार्वजनिक भएको थियो । २०७३ सालमा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएपछि दमक भ्यू टावरको काम अघि बढेको थियो । नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको शिलन्यास भएको भएपनि २०७६ साल असार २७ गतेबाट निर्माणको काम शुरु भएको हो ।

एक सय मिटर उचाइको १८ तले र त्यसमाथि मेटलको ३ तला गरेर २१ तले भ्यू टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का पारेका थिए । २०७६ साल असार २७ गते निर्माण सम्झौता भएर २०७८ साल पुस २७ गते निर्माण सम्पन्न गर्नु पर्ने भएपनि पुर्ण रुपमा अहिलेसम्म सम्पन्न भएर हस्तान्तरणको चरणमा भने पुगेको छैन ।

बारम्बार समय थप हुँदै आएको छ । बजेट अभाव र कोरोनाका कारणले गर्दा समयमा काम नसकिएको बताईने गरेको छ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा भ्यू टावरको ठेक्का लागेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।