सुनसरी / पूर्वको पशुपति भनेर चिनिएको तथा खोटाङ हलेसीको दोस्रो स्वरुपको पहिचान बनाएको भोजपुरको पौवादुङमा गाउँपालिका- १ तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवस्थल संरक्षणविहीन भएकाले स्थानीयवासी संरक्षणमा जुटेको छ ।

विसं २०२८ मा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार–प्रसारको पर्खाइमा छ । विगतका दिनमा संरक्षण नहुँदा हसेलीको जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रूप देख्न सकिने यो स्थानबाट अहिले कतिपय मूर्ति हराइसकिएका छन् । यहाँ शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताको मूर्तिसँगै आश्चर्यको गुफासमेत छ ।

करिब दुई रोपनी क्षेत्रमा फैलिएको यो देवस्थलको संरक्षण गर्न अहिले स्थानीय जनता जागरुक भएका छन् । स्थानीय युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत खर्चमा शिवको मूर्ति र १० फुटको त्रिशूल राखेका थिए ।_2023_1027_171309

 चन्दा सङ्कलनबाट नै मन्दिरसम्म पुग्नका लागि बाटो निर्माण गरिएको संरक्षणको अगुवाइ गरिरहनुभएका युवक श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग सङ्कलन गर्ने काम जारी रहेको उनले बताए ।

युवाहरूले पहल थालेपछि यहाँ पौवादुङमा गाउँपालिका–१मा श्यामशिलको रु चार लाखको लागतमा मन्दिर निर्माण गरिएको छ । थप संरक्षण गर्नका लागि यस वर्ष गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो । जीर्ण अवस्थामा पुगेको यो स्थानको संरक्षणसँगै प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याएर राम्रो आम्दानी लिन सकिने अर्का स्थानीयवासी वीरबहादुर तामाङले बताए । 

यो स्थल संरक्षणका लागि घेराबारा गर्न, गुफामा बत्ती जडान गर्न र पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकमको आवश्यकता भएको स्थानीयवासीले बताए । यस्ता संरचनाको संरक्षण तथा विकासमा सरकारको सहयोग हुनुपर्ने उनीहरूको माग थियो ।IMG-20231021-WA0005