भोजपुर / भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल नागछाँगा झरना पर्यटको पर्खाइमा रहेकोछ । पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिक स्वरूप रहेको यो स्थान ओझेलमा परेको हो । ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँ स्थानीयवासीको भने धार्मिक आस्थाको केन्द्र हो ।

यहाँ नयाँ वर्ष, फागुपूर्णिमा, माघेसङ्क्रान्ति लगायत विभिन्न चाडपर्वका अवसरमा मेला समेत लाग्ने गरेको छ । छाँगा करिब ६० मिटर आग्लो रहेको छ । यहाँ गएर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासीको भनाइ छ । ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो कोही पनि अचम्मित हुन्छन् । हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गर्दछ । त्यहाँ पुग्नेको पहिलो नजर नै नागको चित्रमा जाने गर्दछ ।

विगतमा यहाँको छाँगाबाट ठूलो पानी झर्ने गरेको भए पनि शिरमाथिबाट सडक विस्तार गरिँदा हिउँदका समयमा पानी कम झर्ने गरेको छ । जसले छाँगाको सुन्दरतामा असर पुर्याएको छ । यहाँ किराँतसँगै, हिन्दू धर्मावलम्बीले श्राद्ध गर्ने, स्वस्थानी, व्रतबन्ध, रुद्री पूजा लगाउने गरेका छन् । यहाँ पुग्नका लागि कच्ची सडक पनि निर्माण गरिएको छ ।Screenshot_2023_1026_204742

छाँगा वडा नं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमानामा अवस्थित छ । यहाँ विभिन्न समयमा मेला महोत्सव र पूजाआजासमेत हुने गरेको छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको किंवदन्ती रहेको स्थानीय जानकारको भनाइ छ । राजारानीले नै सुरक्षाका लागि यहाँ नाग राखेको किंवदन्ती छ । यसको महत्वलाई बुझ्न नसक्दा पवित्र धार्मिक तथा पर्यटकीय स्थल चर्चामा आउन नसकेको स्थानीय बताउँछन् । स्थानीय सरकारले झरना प्रचार प्रसार गर्न लागि परिरहेको छ ।

यहाँको दृश्यलाई हेर्दा कोहीको पनि मन लोभ्याउँछ । भौगोलिक रूपले विकट रहेका कारण पनि जो कोही मानिसलाई आइपुग्न समस्या छ । त्यसैले, यसलाई व्यवस्थित ढङ्गले संरक्षणसँगै प्रचार गर्न सकिन्छ ।

छाँगाबाट नजिकै रहेको गोल्माराजा गोल्मारानी भिरमा परापूर्वकालमा राजा बिहेको जन्ती लिएर आउने क्रममा सबै जना त्यहीँ अलप भएको किंवदन्ती छ । यहाँको ढुङ्गामा पञ्चेबाजामा प्रयोग हुने नरसिंहा, दमाहा, सनही र लहरै जन्ती हिँडेको जस्तो चित्रसमेत हेर्न सकिन्छ ।Screenshot_2023_1026_205328

 त्यहाँको ढुङ्गामा नै गाईको नक्सा समेत रहेको पाईन्छ । यहाँ, दुई धार्मिकस्थलको एक आपसमा सम्बन्ध रहेको छ । छाँगा रहेको ठाउँसम्म पुग्नका लागि गोरेटो बाटोसँगै केही संरचना निर्माण गरिएको छ । पवित्र तीर्थभूमिसँगै पयर्टकीय क्षेत्र रहेकाले यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

अहिले विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् । यसको प्रचारमा व्यापकता दिनसके मानिसको आवागमनमा वृद्धि हुनेछ । यो स्थान आएर दर्शन गर्दा प्रत्यक्ष नाग देखेको अनुभव हुन्छ । जिल्लामा यस्तो ठाउँ कतै छैन । यहाँ झरनासँगै ढुङ्गामा नागको चित्रले मान्छेलाई अचम्मित पार्छ । 

तर, यो ठाउँ धेरै मानिसले चिनेका छैनन् । यसको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सक्ने हो भने गाउँपालिकाको राम्रो आम्दानी स्रोतका रूपमा स्थापित गर्न सकिन्छ । यसको मौलिकतालाई कायम राख्दै उचित व्यवस्थापन गरी प्रसारप्रचार गर्नसके यो गाउँपालिकाको निकै गतिलो सम्पत्तिका रूपमा स्थापित हुनसक्नेछ ।Screenshot_2023_1026_205313