सुनसरी / चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् ।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए । उहाँहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।

नेदरल्यान्डदेखि सौराहा घुम्न आउनभएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैँ मनाउन पाउँदा निकै खुसी देखिए । अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए । उहाँले आगामी वर्ष पनि  नेपालमा आएर दशैँ मनाउने बताए ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्यसमेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए ।

नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो देशका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए ।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको अवसर पनि विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।