काठमाडौं / हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो ।

पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् ।दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् ।

मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसममा सुधार हुनासाथ पर्यटक आगमन बढेको यहाँका होटल व्यवसायी बताउँछन् । हिमपात भएको समयमा पदयात्रा गर्दा जोखिम बढी हुने भएकाले यस समयमा पदयात्रा गर्न सहज हुने जिल्लास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ ।

पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरदेखि पर्यटक पैदलयात्रा गरिरहेको देखिने आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताए । उहाँले सिजन सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल बढेको भन्दै दैनिक एक सय ५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका जानकारी दिए।

सन् २०२३ को सुरुआतदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए ।

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका भुजेलले जानकारी दिए । सन् २०२३ को जनवरीमा ४२ देशका नागरिकले मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क रहेको आयोजना इलाका कार्यालयले जनाएको छ ।

उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक भ्रमणका लागि आएको तथ्याङ्क छ । उहाँका अनुसार मस्र्याङ्दी नदीको किनार हुँदै यस पदमार्गको यात्रा गर्नुपर्दछ । सडक र पदमार्ग एउटै हुँदा पर्यटकलाई सकस हुने गरेको उहाँले बताए । यात्राका क्रममा सवारी चल्दा हिलाम्मे भएको क्षेत्रमा हिलो छ्यापिने र धुलो भएको स्थानमा धुलोले बाटो छिचोल्न समस्या हुने गरेको भुजेलको भनाइ थियो ।

पर्यटन व्यावसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले उनीहरुको आकर्षण बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङले बताए ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई सिजन गरी यहाँ पर्यटक घुम्न आउने गर्दछन् ।