सुनसरी / खाँदबारी युथ क्लबले 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संखुवासभाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्द्धन 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा यहीँ असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले रु २ लाख ६१ हजारको कुल लागतमा विभागीय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन:खाँदबारी टुडिखेल र खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन: लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने जनाईएको छ ।

क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी महासंघ अध्यक्ष ईन्द्र गिरीले आन्तरिक पर्यटन प्रवर्द्धन सहित युवा एकता र भाईचाराको भावना अभिबृद्धि गर्न क्लवले आयोजना गरेको प्रतियोगिताको सफलताका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।