सुनसरी / भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।


उक्त भन्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । मौसम खुलेको समयमा दैनिक पाँच-सात समूहमा पर्यटक आउने गरेको टेम्केमैयुङ- ९ लेखर्क निवासी राजकुमार विश्वकर्माले बताए ।


पर्यटकको सहज आवागमनका लागि टेम्केमैयुङ गाउँपालिकामा पर्ने मुन्दुम पदमार्गलाई कपासे भन्ज्याङसम्म विस्तार गर्ने लक्ष्य रहेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए ।


हरियाली चौर तथा विभिन्न हिमशृङ्खलासँगै तराईका सुन्दरफाँट हेर्न सकिने भएकाले जो कोही पनि यो ठाउँमा पुग्न रुचाउने गरेको उहाँको भनाइ थियो  प्राकृतिक दृष्टिले निकै सुन्दर रहेको यो ठाउँको प्रचारप्रसारसँगै आवश्यक विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । 


यहाँको विकासका लागि टेम्केमैयुङ गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा यहाँ खानेपानीको लागि रु आठ लाख र सुम्निमा पारुहाङको मूर्ति स्थापनाका लागि रु १० लाख लगानी गरेको जनाएको छ । मूर्ति संरक्षणका लागि घेराबार तथा द्वार निर्माण र पैदलमार्ग निर्माणका लागि टेम्केमैयुङ–९ लेखर्कले रु चार लाख लगानी गरेको छ । 



यो आर्थिक वर्षमा पनि थप काम गर्न वडाले रु एक लाख बजेट विनियोजन गरेको छ भने विद्युत् विस्तारका लागि गाउँपालिकाले काम गरेको सेल्मे, कपासे हलहले पर्यटन संरक्षण समिति भोजपुरका सहसंयोजक बविन्द्र राईले जानकारी दिए ।


कपासे भन्ज्याङको बृहत्तर विकासका लागि रु नौ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम भइरहेको खोटेहाङ गाउँपालिका–२ का वडाध्यक्ष पारस राईले जानकारी दिए ।

भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ

उनका अनुसार यहाँको विकासका लागि उक्त गाउँपालिकाले राष्ट्रिय विभूति स्मारक पार्क निर्माणमा रु २५ लाख र वडा  कार्यालयले रु चार लाख लगानी गरेको छ । त्यस्तै केन्द्र सरकारले रु २० लाखको लगानीमा पर्यटन पार्क निर्माण गरिदिएको वडाध्यक्ष राईले बताए । 


कपासे भन्ज्याङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गलेले बताए । दुई जिल्लाको सङ्गमस्थल रहेकाले खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा आवश्यक संरचना निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए ।


यो ठाउँको विकास भएपछि  विसं २०७४ देखि ११ घर परिवारले बसोबाससमेत गर्न थालेका छन् । प्रदेश सरकारले रु २० लाख लगानी गरेर बजार व्यवस्थापनका लागि चार वटा ट्रस्ट निर्माण गरिदिएको छ ।


त्यस्तै कोशी प्रदेश सरकारको रु २० लाख सहयोगमा सेल्मे–कपासे सडक निर्माण गरिएको छ । कृषि ज्ञानकेन्द्रले रु १५ लाखको  लागतमा आलु भण्डारण केन्द्र निर्माण गरिदिएको छ भने भोजपुर र खोटाङबासीको सक्रियतामा चिया खेतीसमेत विस्तार गरिएको छ ।

भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ