धनकुटा । मन्दिरमा प्रायः बिहान पूजा शुभारम्भ गरी दिनभरि दर्शनार्थीका लागि खुला राख्ने गरिन्छ तर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ स्थित छिन्ताङदेवी अर्थात् जल्पादेवी मन्दिर दिनभरि बन्द हुन्छ साँझ परे पछि पूजाका लागि खोलिन्छ । 

देशका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा बिहान धूमधाम साथ पूजा भइरहँदा धनकुटास्थित  छिन्ताङदेवी अर्थात् जल्पादेवीको मन्दिर भने बन्द हुन्छ तर जब अन्य मन्दिर साँझको पूजापछि बन्द हुन थाल्छन् । तब यो मन्दिर खुल्छ अनि पूजाअर्चना हुन्छ । यही छुट्टै विशेषताका कारण देशका अन्य मन्दिर भन्दा यो मन्दिर फरक बनेको छ ।

शहीदभूमि गाउँपालिका वडा नम्बर ३ छिन्ताङमा रहेको यो मन्दिरमा साँझ परेपछि दर्शनार्थीको भिडभाड बढ्छ र राती अबेर सम्म पूजा हुन्छ । यो मन्दिरमा बेलुका पूजा हुने चलन नयाँ भने होइन । पहिले देखि नै यस्तै चलन रहिआएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष यो गेन्द्र राई बताउनुहुन्छ।

यो मन्दिरमा औसी र आइतबार बाहेक सधैँ नियमित पूजा बेलुका ५ बजे पछि मात्र हुने गरेको छ । उहाँका अनुसार यो मन्दिरका दुई दिदीबहिनी छन् । सङ्खुवासभा जिल्लामा रहेको दिदीको बिहान र दिउँसो पूजा हुने गरेकाे  छ भने त्यहाँ पूजा सम्पन्न भएपछि मात्र यहाँ पूजा सुरु हुने गर्छ ।

बेलुकी पूजा हुनुबाहेक यो मन्दिरको अरू पनि केही फरक विशेषता रहेको स्थानीयवासी बताउछन। यो मन्दिर रहेको स्थानमा एक अनौठो प्रजातिको रुख छ । त्यही रुखको फेदमा मुख्य देवीको बसोबास रहेको विश्वास गरिन्छ ।तर सो रुख कुन प्रजातिको हो र कति पुरानो हो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय बासिन्दाको दाबी छ ।

सो रुखको बीचमा एक कर्कलोको पात छ । त्यो पात नकहिले मर्छ न कहिले सुक्छ । त्यस्तै रजस्वला हुने उमेर समूहभन्दा माथिका महिलालाई यो मन्दिर प्रवेशमा निषेध गरिएको छ । सुक्खा ग्रस्त यो क्षेत्रमा मन्दिर आसपास भने पानीका मूल प्रशस्त रहेका छन् । दैवी शक्तिकै कारण मन्दिरमा यस्तै अनौठो कुरा रहेको स्थानीय सूर्यप्रकाश विश्वकर्मा बताउछन ।

यो मन्दिरमा नियमित दर्शन गर्न देशका विभिन्न स्थानबाट दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन र मन्दिरमा सुँगुर , खसीबाहे क परेवा, कुखुरा बोका, हाँस र राँगाको बली चढाइने गरिन्छ । त्यस्तै यहाँको अर्को विशेषता भनेको यहाँ धुनीको रूपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ।