तेह्रथुम / तेह्रथुमको म्याङ्लुङ नगरपालिका-५ मा रहेको ऐतिहासिक चिस्यानी देवी गुफा संरक्षणको पर्खाइमा छ । बस्तीको बीचमा अवस्थित यो गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।देवी थानसमेत रहेको यस स्थानमा यहाँका विभिन्न समुदायले विशेष पूजाआजा गर्ने गर्छन् ।

ऐतिहासिक एवं धार्मिक महषव बोकेको यस ठाउँमा रहेको पानीको मूल १२ महिना नै चिसो भइरहने र यहाँको पानीको तौलसमेत अन्य क्षेत्रको भन्दा बढी हुने भएकाले यस गुफाको नाम पनि चिस्यानी देवी रहन गएको स्थानीयवासी जगतबहादुर खजुमको भनाइ छ ।उहाँले भन्नुभयो, “अन्य क्षेत्रको मूलभन्दा यहाँको पानीको तौल एक तोला बढी छ ।

”यस ठाउँमा उधौली, उभौली, चण्डीपूणर्िमाका साथै अन्य विभिन्न अवसरमा भक्तजन पूजापाठ गर्न आउने गरेका छन् । किंवदन्तीअनुसार परापूर्वकालमा यो गुफामा मध्यरात र मध्य दिनमा नौमती बाजा बज्ने गथ्र्यो । आफू सानो छँदा बाजाको धुन बजेको सुनेको तर अहिले सपनाजस्तो मात्रै लाग्ने स्थानीयवासी ९२ वर्षीया भीमकला भण्डारीले बताउनुभयो । यस स्थानमा पूजा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न सके वडाकै पर्यटकीय गन्तव्य बन्ने स्थानीयवासी झमक खापुङले बताउनुभयो । “पर्यटकीय प्रवद्र्धन भए आर्थिक आम्दानी गर्न पनि सकिन्छ,” उहाँले भन्नुभयो ।प्राकृतिक रूपले निर्मित यो गुफाको लम्बाइ करिब १५ मिटर छ । गुफाको भित्री भागमा पोखरी रहेको र पोखरीमा विभिन्न रङका माछासमेत छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको यस गुफाको पूर्वाधार व्यवस्थापन गरिने म्याङ्लुङ नगरपालिका-५ का वडाध्यक्ष राजकुमार सेनेहाङले बताउनुभयो । “यो गुफालगायत अन्य धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने वडाको योजना छ,” उहाँले सुनाउनुभयो।

गाेरखापत्र दैनिक