इटहरी / इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटल तथा लज व्यवसायी समिति इटहरीको संयुक्त आयोजनामा चैत २९ देखि वैशाख १० गतेसम्म महोत्सव आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पर्यटन बोर्डको सहयोग हुन लागेको महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने जनाइएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ दर्शकले चाहेको खानाका परिकारहरु रोजेर खान पाउने सुबिधा मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी महासचिव सफल पौडेलले बताउनु भयो। परापूर्वकालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जीवनका लागि आवश्यक र परिवेश तथा पद्धति सुहाउँदो हुनुपर्छ भन्ने सन्देश महोत्सवले दिने आयोजक होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी अध्यक्ष तेज बहादुर पुरीले बताउनु भयो  

विश्वव्यापीकरणसंगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै प्रचारप्रसार गराउनुपर्ने आवश्यतालाई महोत्सवले सहयोग पुर्याउने बताइएको छ । खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले पनि महोत्सव गर्न लागिएको होटल तथा लज व्यवसायी समिति इटहरी अध्यक्ष तथा महोत्सव संयोजक उमानाथ दाहाल ( उमेश ) ले बताउनु भयो  ।