इटहरी \ इटहरी कोेशी प्रदेशको व्यापारिक सहर हो । यो पर्यटकिय सहर पनि हो । तर, यहाँका पर्यटकिय क्षेत्रहरु त्यत्ति धेरै चिनिएका छैनन् । गहिरिएर र बुझेर इटहरी हेर्ने बुझ्ने हो भने इटहरीमा पनि विभिन्न घुमघाम केन्द्रहरु छन् । नेपालको भाटभटेनीको सबैभन्दा ठूलो क्षेत्रफल भएको आउटलेट इटहरीमा छ । पूर्वी नेपालमा चेन डिपाटमेन्ट संचलान गर्ने गोरखा डिपार्टमेन्ट इटहरीकै उत्पादन हो । पूर्वी नेपालको पहिलो वाटर पार्क पनि इटहरीमै छ । सुनसरीको पहिलो पाँचतारे होटल इटहरीमा संचालनको तयारीमा छ । यी बाहेक पनि इटहरीमा घुम्ने, बुझ्ने ठाँउहरु धेरै छन् ।

केहि यस्ता छन् -


१. मेचिकाली पोखरी 

a22979dd92979781acdda73daa69efc7

एक हिसाबमा कंक्रिटको सहर हो, इटहरी । तर उपमहानगर कार्यालय परिसर भने प्राकृतिक छँटाले सुन्दर छ। २३ कट्ठा क्षेत्रमा फैलिएको यहाँको पोखरीको वरिपरि ठडिएका छन्, इटहरी उपमहानगरपालिकाका प्रशासनिक भवनहरु । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष त पोखरीमाथि नै बनाइएको छ ।

प्राकृतिक र चित्ताकर्षक पोखरीमा सदाबहार पानी रहन्छ । पोखरीको वरिपरि पैदलपथ र रेलिङ छ । यहाँ फन्को मारिरहेका आगन्तुक देखिन्छन् ।

सरकारी कार्यालय बन्द नभएको समयमा पोखरी परिसरमा तस्बिर लिनेको भीड लाग्छ । पोखरीको नाम मेचीकाली पोखरी हो । मेचीकाली हुनुको पछाडि इटहरीका पाँच युवाहरुले २०५४ पुस ७ मा मेचीदेखी महाकाली यात्रा गरेर दुवैको पानी ल्याएर पोखरीमा खन्याए । अनि नामै मेचीकाली रहन गयो ।

करिब साढे दुई दशक अगाडिबाट मात्रै मेचीकाली नाम रहन गए पनि यसको इतिहास भने एक शताब्दीभन्दा पुरानो मानिन्छ । ‘इतिहासमा इटहरी’ पुस्तकका अनुसार यो पोरखी संवत् १९७२ मा मानपुर चौधरी र रामजी चौधरीले खनेका थिए ।


२. बुढिखोला सम्पदा सफर 

download 12

पूर्व-पश्चिम राजमार्गहुँदै इटहरी बजार पार गरेर पूर्वतर्फ यात्रा गर्दा आउने पहिलो ठूलो खोला हो, बुढी खोला । लामो पुल र पुलमुनि बनाइएको सुन्दर घाटले धेरैको आँखा तान्छ । बुढी खोला इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको मात्रै सीमा खोला हैन, सुनसरी र मोरङ जिल्लाको सीमा पनि हो । बुढी खोलालाई कतिपयले ‘वृद्ध गंगा’समेत भन्छन् ।

यही खोला किनारमा केही समय पैदल हिँडेमा आकर्षक धार्मिक तथा सांस्कृतिक हेरिटेजहरु भेटिन्छन् । खोला किनारमा इटहरीतर्फ भएको सुन्दर घाटलाई मुक्तिधाम भनिन्छ । यो ६ करोड लागतमा बनेको प्रदेश १ कै सबैभन्दा आकर्षक घाट हो ।

झिलीमिली बत्ती, आकर्षक मूर्तिहरु, किरियापुत्री भवनदेखि विभिन्न मन्दिरहरु छन् यहाँ । घाटसँगै जोडिएको छ कृष्ण प्रणामी मन्दिर । घाटको पश्चिमतर्फ छ, मानव धर्मको विशाल भवन ।

यस्तै मोरङतर्फ छठी माईको मन्दिर छ । छठी माईको मन्दिर अगाडि झन्डै दुई किलोमिटर क्षेत्रमा छठ पर्वमा ब्रतालुहरु भेटिन्छन् । पूर्वी तराईका भक्तालुहरु यहाँ आएर व्रत बस्छन् ।

छठी मन्दिबाट केही उत्तरपूर्वमा छ, नयाँ बृन्दावन गौशाला । नयाँ बृन्दावन गौशालामा नेपालकै सबैभन्दा विशाल गाईको प्रतिमा बनिरहेको छ । पैदल यात्रामा यी सबै हेरिटेजको एक घन्टा भित्र एक फन्को लाउन सकिन्छ ।


३. तालतलैया 

download (1) 12

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक गरेका देशभरका सय गन्तव्यमा अटाएको इटहरीको एक्लो गन्तव्य हो, तालतलैया । इटहरी वडा नम्बर २ र ३ मा फैलिएको ताललैया जलविहार, बालउद्यान, पिकनिकदेखि प्राकृतिक विचरण गर्न सकिने इटहरीको सबैभन्दा लोकप्रिय सार्वजनिक गन्तव्य हो ।

यहाँ विभिन्न देशका मूर्तिकारले कुँदेका ढुंगाका मूर्तिहरु समेत छन् । २०७२ माघ ९ देखि १८ गतेसम्म संचालन भएको ‘एकता अन्तर्रास्ट्रिय मूर्ति कार्यशाला’मा यहाँ देशीविदेशी मूर्तिकारहरुले २८ मूर्तिहरु बनाए । सबैभन्दा लोकप्रिय मूर्ति चाहिँ इजरायली मूर्तिकार तान्या प्रेमिन्जरले बनाएको ढुंगाको मुटु हो । यो मूर्तिलाई पृष्ठभूमि पारेर तस्बिर लिनेहरु धेरै देखिन्छन् ।

२०२५ सालताका खोल्सी थुनेर जमाउँदा पोखरी भएको तालतलैयालाई सर्वध्वज साँवाको अध्यक्षतामा वनभोज स्थल बनाइयो । इटहरीका प्रथम मेयर तथा हालका प्रदेश १ सभाका सदस्य साँवाकै अगुवाइमा तालतलैयाले अहिलेको स्वरुप पाउन सकेको हो ।

पछिल्लो समयमा तालतलैया प्रदेश १ मा मोटर बोटिङ संचालन गर्ने प्रथम सिमसार क्षेत्र हो । २०७५ साउन १२ गते तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोटरबोटिङको उद्घाटन गरेका थिए ।


४. खोर्सानेखाप 

download (2) 12

सेवा सुविधाको व्यापक अभाव भएकोले कुनै बेला इटहरीको ‘कणर्ाली’ भनेर चिनिएको थियो इहटरी ३ को खोर्सानेखाप । अहिले इटहरी बजारबाट खोर्सानेखाप पुग्ने खोलमा पुल र बस्तिमा  बिजुली पुगेपछि भने विकास हुने क्रम बढेको छ ।

तीनतिर खोलानालाले घेरिएको एक सुन्दर अर्धटापु गाँउ हो, खोर्सानेखाप । तालतलैयाबाट १५-२० मिनेटको पैदल वा केही मिनेटकै दुईपांग्रे साधनको यात्रामा खोर्सानोखाप पुग्न सकिन्छ ।

पूर्वमा बुढीखोला, पश्चिममा सेरा खोला, दक्षिणमा सेरा र बुढीखोलाको दोभान छ । उत्तरमा सरस्वती सामुदायिक वन क्षेत्र छ ।

२०७० सालताका होमस्टे सुरु गरिएको यो क्षेत्रमा इटहरीको लोकप्रिय नाट्य संस्था कलालयले नेचर थिएटरसमेत संचालन गरेको थियो । करिब ६० घरधुरी भएको यो क्षेत्र ३० हेक्टर हाराहारीमा फैलिएको छ । खोलाको संगीत, चराहरुको चिरबिर र गाँउले जीवनका हरेक बिम्ब यो क्षेत्रमा पाइन्छ ।


५. बुढासुब्बा मन्दिर क्षेत्र 

download (4) 12

बुढासुब्बा भन्नासाथ धरानमा रहेको मन्दिर बुझिन्छ । बुढासुब्बा मन्दिर इटहरीमा पनि छ । इटहरीको ताललैयाको गेटबाट धरान जान भित्री बाटोहुँदै केही मिनेट अगाडि बुढासुब्बा चोक छ ।

बुढासुब्बा चोकै भित्र छ, इटहरीवको बुढासुब्बा मन्दिर । इटहरीमा दशकौँदेखि यो मन्दिर क्षेत्रमा पूजाआज गरिएपनि २०५५ सालदेखि मात्रै औपचारिक रुपमा मन्दिरको स्थापना भएको इटहरी वडा नम्बर २ का अध्यक्ष हर्क मगर बताउँछन् ।

बुढासुब्बा मन्दिरमा कंक्रिटका संरचनाहरु थोरै छन् । हरेक वर्ष वैशाख १३ गते यहाँ विशाल मेला लाग्छ । प्रेमीप्रेमीकाले नाम खोप्ने बाँसहरु धेरै छन् यहाँ । खुल्ला क्षेत्र र शितल हावा दगुर्ने क्षेत्र पनि व्यापक छ । कमै भिडभाड हुने भएकोले धार्मिक मात्रै हैन, प्राकृतिक छँटामा रमाउनेहरुका लागि यो गन्तव्य प्रिय हुनसक्छ ।


६. भान्से पोखरी 

इटहरी उपमहानगरपालिका-१८ मा छ भान्से पोखरी । यो इटहरी क्षेत्रका हाल अस्तित्वमा रहेका पोखरीहरुमा सबैभन्दा ठूलो हो । भान्से पोखरी माछा पालनमा लोकप्रिय छ ।

इटहरी स्थानीय सरकारले पोखरीमा माछा पाल्ने ठेक्का खुलाउने गर्छ । इटहरीमा अरु पोखरी पनि छन् । तर, उपमहानगरपालिका परिसरको पोखरी र भान्से पोखरी मात्रै चर्चित छन् । यसको मूल कारण यी पोखरीहरुको आकर्षक बनोट र आगन्तुकको सेल्फीमोह हो।

स्थानियका अनुसार पोखरी करिब पाँच विगाह क्षेत्रफलमा फैलिएको छ । पोखरी परिसरमा शिवालय छ । इटहरी स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्न बजेट तथा पूर्वाधार व्यवस्था नगर्दा धेरै पूर्वाधार बन्न बाँकी छन । तर, साइकल तथा मोटरसाइकल यात्रामा जानेहरुलाई पानी, पोखरी, माछा र प्राकृतिक अनि स्थानीय थारु संस्कृति बुझ्न यो पोखरीको यात्रा यादगार हुनसक्छ । पोखरी पुग्न इटहरीको सशस्त्र प्रहरी बलको मुख्यालयबाट पश्चिमतर्फको सडक भएर जाँदा मोटरसाइकलमा १५ मिनेट हाराहारी लाग्छ ।


७. भवानीपुर सिमसार क्षेत्र 

इटहरी उपमहानगरपालिका- १९ मा छ, भवानीपुर सिमसार क्षेत्र । इटहरीको चौरास्ताबाट ६।८ किलोमिटरमा अवस्थित यो सिमसार १६।२३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सालक, दुम्सी, पानीहाँस, कछुवालगायतका जिवजन्तुको आश्रयस्थल यो सिमसार प्रकृतिमैत्री पिकनिकका लागि पनि राम्रो गन्तव्य हो । बालबालिकालाई रमाइलो गर्न गणेशमानसिंह भुलभुलैया पार्कसमेत यहीं क्षेत्रमा छ ।


८. काव्यबाटिका 

download (3) 12

पूर्व-पश्चिम राजमार्गमा रहेको इटहरीको पचरुखीबाट केही मिनेटको उत्तरी सडक हिँडेपछि पुगिन्छ काव्यबाटिका । यो क्षेत्र कुनै बेला अहिलेको चर्चित तालतलैया क्षेत्रभन्दा चर्चित इटहरीको प्राकृतिक गन्तव्य थियो ।

ती विगाह क्षेत्रमा फैलिएको काव्य बाटिकमा २०५८ सालदेखि मूर्तिकलाको काम विभिन्न स्थानीय तथा आगन्तुक कलाकारहरुले थालेका थिए । २०६३ सालसम्म पनि यो क्षेत्र चर्चित नै थियो ।

तर, त्यसपछि भने यसले महत्व गुमाउँदै गएको छ । वरिपरि घेराबार गरिएको गन्तव्य भएकोले अहिले पनि एकान्त रुचाउनेहरुलाई काव्य बाटिका एक सुन्दर छनोट हुनसक्छ ।


९. स्यार्येकाली भोजन भेन्यू 

339446739_249664514152674_870199017497407882_n

पूर्वपश्चिम राजमार्ग समाएर इटहरीबाट पश्चिम लाइन हुँदै पचरुखी कटेपछि आउँछ स्यार्येकाली पेट्रोल पम्प । तर, यो क्षेत्र पेट्रोल पम्पको लागी भन्दा भोजनको लागी लोकप्रिय बनेको छ । राजमार्गमा सवार हुनेहरुले झाप कटेपछि र सप्तरी कटेपछि अनिवार्य खानपिन गर्ने क्षेत्र हो स्यार्येकाली पम्प क्षेत्र । सबैभन्दा पहिले २०५५ ताका होमनाथ दाहालले सविना होटलको नाममा यहाँ खाना व्यवशाय सुरु गरेका थिए । अहिले त्यो होटल बन्द भएको छ । संचालकअरु अरु ठूलो लगानीको क्षेत्रमा स्थानान्तरण भएका छन् । तर, खाना गन्तव्यको रुपमा स्यार्येकालीको महिमा भने जहाँको तहि छ । अहिले पाँच वटा सक्रिय खाना पसलहरु संंचालनमा छन् । राजमार्गमा सवार हुनेहरु, स्थानियहरु एकपटक स्यार्येकाली पम्प क्षेत्रमा भेज ननभेज खाना खान छिरेपछि बानि पर्छन् । उनीहरु दोहोरिएर जान्छन् । दैनिक सरदरमा ४०० जनाले खाना खाने व्यवशायीहरु बताउँछन् । सादा खाना १७०  दाम पर्ने खानाको दर मासु हेरेर २५० देखी ३०० सम्म रहेको छ । खाना खान आउनेहरु बिहानबाट रातभरी नै हुन्छन् । तर, प्रशाशनको नियमका कारण १० बजेपछि भने खाना होटलहरु बन्द हुने गरेका छन् ।