इलाम । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाकले पर्यटक तानिरहेको  छ ।  स्काइ वाक आन्तरिक एवम बाहिय पर्यटकहरूका लागि गन्तब्य बन्न थालेको छ । 

           सुर्याेदय नगरपालीकाका प्रमुख रणबहादुर राइले कन्याममा करीब ५ करोडको लागतमा  सम्पन्न भएको उक्त स्काइ वाचक्षेत्रमा स्काइ वाकको निर्माण संगै आन्तरिक तथा बाहिय पर्यटकहरू आकर्षित हुने र पर्यटकीय नगरी रहेका कारण यस क्षेत्रको पर्यटन प्रवर्दनका निमित्त नगरपालीकाले बिभिन्न बहु उपयोगी योजनाहरू ल्याएको बताए । 

          महिलाहरूको लगानी रहेको स्काइ वाकलाइ कन्याम क्लाउड प्रालिले निर्माण गरेको हो । निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको हो ।

           दुइ वर्षअघि निर्माण थालिएको यस परियोजना कात्तिक १८ गते औपचारिक उद्घाटन गरि सुरु गरेको थियो । परियोजनामा  सुविधा सम्पन्न रेष्टुरेन्टहरू समेत निर्माण गरिरहेको  प्रालीले जनाएको छ । रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने गरी निर्माणका कामहरू अघि बढीरहेको  वण्डर्स नेपाल प्रालीका सञ्चालक सुनिल भुसालले बताए । 

यो नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ । सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएकोले  मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ  । 

       नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस क्षेत्रमा  परियोजनाले अझ पर्यटक बढाई रहेको  छ । नगरमा पर्यटकको सङ्ख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको बताइएको छ ।