काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरूको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वद्र्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छैटौँ विश्व नेवा दिवसका अवसरमा वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए ।

उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालयलगायतका सम्पदाको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेवारी कला, संस्कृति, भाषाको संरक्षणमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले जनकवि दुर्गालाल श्रेष्ठ, इतिहासविद् त्रिरत्न मानन्धर, पूर्व राजदूत केदारभक्त माथेमा, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगी रुपज्योति कंसाकार र वरिष्ठ पत्रकार नातिकाजी महर्जनलगायतलाई सम्मान गरेका थिए ।