काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सको उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।  प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ । ‘श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने शर्तमा उडान फुकुवा गरिएको हो’, उनले भने ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै आजदेखि नियमित उडान सञ्चालन गरिने बताए । व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमता समेतको अध्ययन गरेको थियो ।बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इञ्जिनमा आगो लागेको संकेत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटा मात्रै सञ्चालनमा छन् ।