म्याङ्लुङ:  एकातिर छ खोरुङ्गा खोला । अर्कोतिर छ घर्ते खोला । घर्ते खोलालाई सामान्य संरचना बनाएर झरनाको शैलीमा झारिएको छ । छाँगो बनाएर झरेको घर्ते खोला खोरुङ्गामै मिसिन्छ ।

छाँगो बनाइएको ठाउँ नजिकै एक सुन्दर कटेज बनाइएको छ । झरना र कटेजको सङ्गमले दृश्य अत्यन्तै सुन्दर देखिन्छ । र, त्यही दृश्यमा तस्बिर, भिडियो कैद गर्ने आगन्तुकको भिडभाड भइरहन्छ । 

यो पर्यटन कथा हो तेह्रथुमको फेदाप गाँउपालीका वडा नम्बर २ मा रहेको खोरुङा खोला साङ्ग्रिला रिसोर्ट क्षेत्रको । मध्यपहाडि राजमार्गकै काखमा रहेको यो क्षेत्र सदरमुकाम म्याङ्लुङबाट नौ किलोमिटर हाराहारीको दूरीमा छ । बिस मिनेट हाराहारीमा सहजै पुग्न सकिने गन्तव्य हो । 

यो पर्यटन अवधारणा बमबहादुर लिम्बुको हो । २०५८ देखी २०६२ सम्म मलेसियाको पुत्राजयमा रहेको साङ्ग्रिला होटलमा काम गरेका लिम्बुले आफ्नो पर्यटन शिल्प गाउँमै प्रयोगको प्रयास गरेका हुन् । तीन वर्ष अगाडि देखि सामान्य संचालन भएको यो पर्यटन क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी नै भएको बताउँछन् लिम्बु । तर, चाँडै पूर्ण रूपमा संचालन हुने उनी बताउँछन् । 

पाँच रोपनी जग्गामा यस्तो पर्यटन क्षेत्र बनाउनुको मुख्य उद्देश्य म्याङ्लुङमा बसेर काम गरेका कर्मचारीलाई भएको कामको ह्याङबाट मुक्त गर्ने विकल्प भएको उनी बताउँछन् । भन्छन्, ‘मध्यपहाडी राजमार्गका यात्रु त प्रमुख लक्षित आगन्तुक हैनन् ।’

लिम्बुको पर्यटन क्षेत्रमा परिवारका सदस्य समेत जोड्दा एक दर्जन हाराहारी कर्मचारीहरू छन् । कोठाहरूको व्यवस्थित वृहत् संचालन नभएपनि सामान्य खान बस्न भने सुविधा सुरु भएको छ । लिम्बुका अनुसार आगन्तुक आएर बसेको कोठा एक रातको ५०० रुपैयाँ तोकिएको छ । माछा भात तीन सय हाराहारी छ भने मासुभात भने साढे दुई सय रुपैयाँ प्रचलनमा रहेको छ ।