जिरिखिम्तीः सुनसरीलाई इटहरी बजार जस्तो हो तेह्रथुमलाई जिरिखिम्ति बजार लगभग त्यस्तै हो । मध्यपहाडी राजमार्ग र जिरिखिम्ती मोराहाङ हुँदै जाने सडकमार्ग खप्टिने बजार जिरिखिम्तीमा जतिपनि व्यापारहरू भएका छन्, अधिकांश बाहिरका मान्छेले  सुरु गरेका थिए । तर, जिरिखिम्तीको केक र कफी संस्कृति भने त्यहीका रैथाने युवाले सुरु गरेका छन् । 

तेह्रथुमको म्याङ्लुङ नगरपालीका वडा नम्बर ६ का ३३ वर्षका युवा सरोज लिम्बुले यो सबै सुरुवात गरेका हुन् । उनले २०७६ मंसिर १२ गते दर्ता गरेर संचालन गरेको आफ्नो कातालिया क्याफे मार्फत् यसको शुभारम्भ गरेका हुन् । जिरिखिम्ती बजारको म्याङ्लुङ जाने बाटोमा प्रहरी पोस्ट नजिकैको लिम्बुको क्याफे पछिल्लो समयमा लोकप्रिय भएको छ । उनको आफ्नै घरमा क्याफे संचालन भएको छ । उनको क्याफे नै जिरिखिम्तीमा स्तरिय केक र कफी दिने पहिलो आउटलेट हो । 

‘कफी त धेरैले प्रयोग गर्नुहुन्न, खासगरि विदेश र सहरबाट आएकाहरूले चैँ लिनुहुन्छ’, लिम्बुले नेपाल टुरिजम प्लससँग भने, ‘केक भने धेरै लोकप्रिय भएको छ । मोराहाङ, श्रीजुङ हुँदै पौँठाक देखीको जन्मोत्सवमा माग हुँदै आएको छ ।’

कातालिया क्याफेको अर्को सुन्दर कुरा लिम्बु संस्कृति बिम्ब पनि हो । क्याफेमा सिलाम साक्मा देखी विभिन्न लिम्बु भेसभुसा देखी संस्कृतिका खुराकहरू  राखिएका छन् । 

‘लिम्बु सांस्कृतिक फ्लेभर दिन खोजिएको छ’, लिम्बुले आफ्नो क्याफेको सञ्चालनको तरिका सुनाए । भने, ‘यसको लोकप्रियता पनि राम्रो देखिएको छ ।’

विदेश जाने योजना त्यागेर आफ्नो ठाउँमा क्याफे खोलेका हुन सरोजले । नयाँ चिज गर्ने क्रममा बेकरीको अभावलाई टार्दै सुरु गरेका हुन् । 

तालिम उनले तीन वर्ष अगाडि काठमाण्डौको पुतलीसडकमा कफी एकेडेमीमा लिएका थिए । बेकरी आइटमको तालिम लगनखेलको सेफ होटेल एण्ड टे«निङ सेन्टरमा लिए ।  अनि पोख्त भए केक देखी कफीसम्म । र, संचालन भयो कातालिया क्याफे ।

आफ्नै घरमा संचालन गरेको क्याफेको भाडा पर्दैन । तर, विभिन्न कलाकृति र सौन्दर्यीकरण हुँदै सरसामान खरिदमा भने उनले केही लाख खर्च गरेका छन् । खर्च बढ्ने क्रममै छ । तर, व्यापारसँग उनी सन्तुष्ट हुने क्रममा छन् । 

कोभिड–१९ को महामारीले श्रीमती करिस्माको ज्यान लिएपछि सरोजको दिनचर्या असहज छ । तर पनि उनी आफ्नी छोरीको नामको क्याफे संचालन गर्ने र छोरीलाई सयम दिन उत्तिकै सक्रिय छन् । भन्छन्, ‘जिन्दगीको दुःखलाई बिर्सेर छोरी र उनको नामको क्याफे दुवैलाई मेरो मेहनत अझ हुनेछ ।’