काठमाण्डौः साहसिक पर्यटनको स्नातकोत्तर तह म्याट्स अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले छ हजार मिटर माथीको हिमाल आरोहण गरेर अध्ययन र अनुसन्धानको रेकर्ड बनाएका छन् ।

२०७९ असार ७ गते नेपाल माउन्टेन एकेडेमीका १६ जना विद्यार्थी, एकेडेमिक सुपरभाइजर, प्रशिक्षक सहित २१ जनाले मनाङ जिल्लको चुलु हिमाल आरोहण गरेका हुन् । नेपाल माउन्टेन एकेडेमिले अध्ययन र अनुसन्धान प्रयोजनको लागी विद्यार्थीबाट भएको यो नै पहिलो किर्तिमान भएको दाबी गरेको छ । चुलु हिमालको उचाई ६०३९ मिटर रहेको छ । 

म्याट्स त्रिभुवन विश्वविद्यालयबाट स्विकृत प्राप्त साहसिक पर्यटनको स्नातकोत्तरको पढाइ हो । जुन पढाइ नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत रहेको नेपाल माउन्टेन एकेडेमिमा हुनेगर्छ । 

 विश्वविद्यालयबाट स्वीकृत पाठ्यक्रममा नै समावेश भई म्याट्सका विद्यार्थीहरू हिमाल आरोहण सहितको फिल्ड रिसर्चका लागि गत जेठ २९ गते यस तर्फ प्रस्थान गरेका थिए ।

 आरोहण समूहमा २३ जना विद्यार्थी, एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराई, प्रमुख प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा, प्रशिक्षक माउन्टेन गाइड आशिष गुरूङ, एकेडेमिक सुपरभाइजर एवम् एक्पिडिसन डाक्टर वेरोज्ड मोगादशी समुहमा थिए ।क्लाइम्बिङ गाइडहरूमा फुर्वा  ग्याल्जाङ शेर्पा, साङ्गे शेर्पा, हेड कुक शान्ती बहादुर गुरूङ, सहायक कुक निमा साङ्गे शेर्पा, लाक्पा तेन्जी शेर्पा र लाक्पा सोनाम शेर्पा  थिए । 

क्लाइम्बिङ गाइडहरूले असार ६ गते हिमालमा बाटो खोली फिक्स रोप लगाएका थिए । असार ७ गते मंगलबार विहान १ वजे वेसक्याम्पको ४८०० मिटर उचाइबाट अन्तिम आरोहण अर्थात् समिट पुस सुरु भएको थियो । माउन्टेन गाइडहरू छिरिङ जाङबु शेर्पा र आशिष गुरूङले विद्यार्थीको समूहलाई नेतृत्व गर्दै चुचुरो तर्फ लागेका थिए ।

आरोहणका क्रममा प्रशिक्षकहरूले हिमाल आरोहण सम्बन्धि कला, सामाग्रीको प्रयोग, हिउँ सम्बन्धि जानकारी, फिक्स रोपको प्रयोग र टाँङने तरिका, हिउँ पहिरो, हिमालमा देखिने  कृभास र यसबाट वच्ने तरिकाको  जानकारी दिदै चुलु हिमाल आरोहण गराई फिल्ड अव्जरवेशन गराएका थिए । आरोहणका क्रममा विद्यार्थीहरूले तथ्यांक संकलन गरेका थिए । 

विश्वमै पहिलो पटक हिमाल आरोहण सहितको फिल्ड रिसर्चको एक्पिडिसन मेनेजमेन्ट अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्पिडिसनले गरेको छ । विद्यार्थी सहितको आरोहण टिम यही असार १२ गते काठमाडौं आइपुग्ने एक्पिडिसन कम्पनीले जनाएको छ ।

हिमाल पारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङ जिल्लामा कम वर्षा हुने हुँदा मनसुनको समयमा समेत हिमाल आरोहण सहितको पर्यटकीय गतिविधि गर्न सकिने यो एकेडेमिक आरोहणको सफलताले पुष्टि भएको ऐकेडेमिले बताएको छ ।