काठमाण्डौः सन २०१६ को मे महिनामा सगरमाथा चढेको भनेर दाबी गरेका नक्कली सगरमाथा आरोही भारतीय नागरिक नरेन्द्र सिंह यादव यो सिजनमा भने सगरमाथाको सक्कली अरोही बनेका छन् ।

यहि मे २७ अर्थात् जेठ १३ मा बिहान ५ः २ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी चुचुरोमा यो पटक साँच्चिकै पुगेको समाचार धेरै भाइरल भएको छ । 

सन २०१६ मे २० देखी सन २०२२ मे २० सम्म सगरमाथा आरोहणलाई यादवलाई निषेध गरिएको थियो । उनी आफ्नो कारबाही सकिएको एक दिन लगत्तै यहि मे २१ मा आरोहण अनुमति लिन पर्यटन विभाग पुगेको विभागका अधिकारी भिष्मराज भट्टराईले काठमाण्डौ पोस्टलाई बताएका छन् । 

यादव गत अप्रिल २३ मा नेपाल आएर बुटवलमा हुने दिदीको घरमा बसेर मे १७ मा मात्रै काठमाण्डौ उत्रेका थिए । काठमाण्डौ आएर आफ्नो प्रतिबन्द फुकुवा भएकै भोलीपल्ट उनी पर्यटन विभाग पुगेर आरोहण अनुमती लिएका थिए ।

अझ रोचक कुरा त छ वर्षको आरोहण अनुमति नपाएका यादवले छ दिनमै आधार शिविरबाट चुचुरो चुम्न सफल भए । उनी काठमाण्डौबाट आधार शिविरसम्म हेलिकप्टरमा पुगेका थिए । शिविर पुगेको छैटौं दिनमा उनी चुचुरो चुम्न सफल भएका छन् ।

उनी मे २२ मा क्याम्प दुईमा दुई दिन बसेर मे २५ मा क्याम्प तीन पुगेका थिए । मे २६ मा उनी क्याम्प चार पुगे । त्यसको भोली पल्ट बिहान उनी चुचुरो बिहान ५ बजेर २ मिनेटमा पुगे । यो सँगै मे ७ देखी मे २९ सम्म २२ दिने चलेको सगरमाथा आरोहणको बसन्त सिजनका रोयल्टी तिरेर सगरमाथा चढ्ने ३२५ आरोहिमा एक आरोही यादव समेत भएका छन् । 

सन २०२० को भारतको साहसिक कर्मको लागी प्रदान गरिने तेन्जिङ नोर्गे नेसनल एडभेन्चर अवार्डबाट नाम परेर अन्तिम समयमा यादवको नाम नक्कली आरोही भएको भटिएपछि काटिएको थियो । भारतको युवा तथा खेलकुद मन्त्रालयको आग्रहमा नेपाल सरकारले गरेको सन २०२० को अगस्टको छानबिनले यादवले सगरमाथा आरोहण नगरिकन गरेको भनेको प्रमाणित भएको थियो ।