काठमाण्डौः नेपालका होटल व्यवशायीहरुको छाता संस्था हानले वातावरणमैत्री निर्णय गरेको छ । सन २०२५ जनवरी १  अर्थात् २०८१ पुष १७ भित्रमा लागु हुने गरि प्लास्टिक प्रयोग निषेध गर्ने हानको निर्णय भएको छ ।

बुधबार हानले काठमाण्डौमा गरेको घोषणा अनुसार ‘सिंगल युज’ प्लास्टिकको प्रयोग सन २०२५ जनवरी १ भित्र निषेध गरिने भएको छ । पानीका बोतल, प्लेट देखी ड्रिङ्क स्टिररसम्म सबै निषेध गरिने भएको हो । 

हानका तीन हजार सदस्य रहेका सबै होटलहरुमा प्लास्टिक निषेध हुने अध्यक्ष सिर्जना राणाले बताएकि छिन् । एसियाली विकास बैंकको एक अध्ययनले नेपालको कुल फोहोरको १२ प्रतिसत हिस्सा प्लास्टिकको रहेको छ ।

एक सामान्य प्लास्टिक माटोमा सडिन न्यूनतम ५०० वर्ष लाग्ने भएकोले प्लास्टिक पृथ्वीलाई घातक भएको विज्ञहरुले सचेत गराउँदै आएका छन् । प्लास्टिक प्रयोगमा अग्रणी होटल व्यवशायमै निषेध भएपछि यसले धेरै सकरात्मक पर्यटन सन्देश दिने वातावरण क्षेत्रका जानकारहरुले तर्क गरेका छन् ।