नेपाली कांग्रेस सुनसरीको प्रभावशाली राजनीतिबाट एकाएक पर्यटन क्षेत्रमा होमिएका हुन् धरानका मदन ढकाल । उनले २०६२ सालबाट धरानमै मुकाम बनाएर प्रदेश १ तहमा पहिलोपटक र्‍याफ्टिङ सेवा संचालन गरे ।  तमोर रिभर एड्भेन्चर नामक र्‍याफ्टिङ एजेन्सी चलाएका ढकाल बुधबार काठमाण्डौमा भएको ३३ औं नाराको साधारणसभाबाट केन्द्रिय सदस्यमा चुनिएका छन् । नारा नेपाली र्‍याफ्टिङ सेवा प्रदायक एजेन्सीहरुको छाता संगठन हो । नाराको अघिल्लो साधारणसभामा दुई मतले पछि परेका ढकाल यो पटक निर्विरोध निर्वाचित भए । उनी नाराको कार्यकारी समितिमा पुग्ने प्रदेश १  केन्द्रित व्यवशायका प्रथम व्याक्ति हुन् ।नाराको ३३ औ साधारण सभाबाट सर्वसहमतिले  अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष शिशिर खनाल, महासचिव नारायण श्रेष्ठ, सचिव राजु खड्का, कोषाध्यक्ष्य राजेन्द्र थपलिया, सहकोषाध्यक्ष्यमा इन्दुदेवी वाग्ले र सदस्यहरुमा मदन ढकाल र महेन्द्र श्रेष्ठको टीम आएको छ । यहि मेसोमा रहेर नेपाल टुरिजम प्लसका लागी विराट अनुपमले गरेको कुराकानीः  

नारामा तपाईको प्रवेश भएको छ । कति समय लाग्यो कार्यसमिति पुग्ने यात्राको दुरि? 

म नारामा जोडिएको १० वर्ष भयो । व्यवशाय गरेको सन २००५ बाट भएकोले १७ वर्ष लाग्यो । विगतको साधारणसभामा म दुई मतले मात्रै हारेको थिए । अहिले सर्वसम्मत केन्द्रिय सदस्य भएको छु । शिव अधिकारी नेतृत्वको सात सदस्य कार्यसमितिमा म पनि प्रवेश भएको छु । अरु दुई सदस्य कार्यसमितिले अब मनोनित गर्नेछ । 

तपाईको नारा प्रवेशले प्रदेश १ को र्‍याफ्टिङ व्यवशायमा कत्तिको अर्थ राख्छ? 

धेरै अर्थ राख्छ । काठमाण्डौमा मैले अहिले पनि तमोरमा र्‍याफ्टिङ पूर्वबाटै हुने कुरामा धेरै साथीहरुको जानकारी रैनछ । अब भयो । पूर्व केन्द्रित केहि कार्यक्रमहरु हामी ल्याउने छौं । पूर्वका र्‍याफ्टिङ नदीहरुको प्रबद्र्धन गर्न मेरो सदस्यताले धेरै अर्थ राख्छ । 

प्रदेश १ को हाल र्‍याफ्टिङको अवस्था कस्तो छ? 

धेरै राम्रो हुन सकेको छैन । प्रदेश १ मा पर्यटन विभाग र नारामा नजोडिएरै संचालन हुने र्‍याफ्टिङ कम्पनीहरु छन् । उनीहरुको सेवाको गुणस्तर राम्रो छैन । प्रभावकारिता कम छ । अब अवैधानिक र्‍याफ्टिङ कम्पनीहरु बन्द हुन्छन् । नारामै यो विषयमा कुरा उठेको छ । अब कि दर्ता गरेर विधिवत संचालन हुनुपर्यो । नत्र बन्द हुनुपर्यो । 

प्रदेश १ को र्‍याफ्टिङमा जनशक्ति उत्पादनको अवस्था कस्तो छ? 

उत्साहजनक छैन । मैले त्रिवेणीको एक भाई लालु राईलाई सहयोगीको रुपमा लाएर क्रमश गाइड बनाएँ । हाम्रो उत्पादन त्यत्ति हो । मैले स्थानिय सरकार र प्रदेश सरकारबाट पाउनुपर्ने सहयोग भएको देखेको छैन । प्रदेश १ का स्थानिय जनशक्ति उत्पादनमा सरकारले सहयोग गर्नुपर्छ । त्यो हुँदा मात्रै पर्यटनमा फाइदा हुन्छ । प्रदेश १ को राम्रो संभावना भएको पर्यटन क्षेत्र र्‍याफ्टिङ नै भएकोले त्यसतर्फ सरकारको खास ध्यान जानुपर्छ । तर, गएको छैन । जनशक्ति उत्पादनका समस्याहरु भएपनि अहिले र्‍याफ्टिङ संस्कृतिको भने राम्रो विकास भएको छ ।

तपाइको कम्पनीको आधार क्षेत्र कुन हो? सेवा शुल्क कस्तो छ? 

 झापा, मोरङ, सुनसरी देखी धनकुटाका मान्छेहरुले यसमा ध्यान दिन थालेका छन् । हाम्रो कम्पनीबाटै धेरैले यो सेवा लिएका छन् । हामी तमोरको मुलघाटबाट चतराको एक दिने प्याकेजमा दिउँसोको खाना र आउजाउ यातायात सहित तीन हजार रुपैयाँ लिन्छौँ । दुई दिन एक रातको प्याकेजलाई छ हजार लिन्छौं । त्यसमा दुई दिनको खाना र नास्ता अनि आउजाउ यातायात सबै समेटिन्छ । जाडो र वर्षाको समय कटाएर हामीले र्याफ्टिङ गर्ने भनेको दुई महिना मात्रै हो । त्यो भनेको चैत र बैशाखमा हो । त्यहि समयमा हामी सेवा दिन्छौँ ।