पूर्वपश्चिम राजमार्गको बेलबारी बजारको फिल्महल लाइनबाट १२ किलोमिटर उत्तर यात्रामा पुगिने राजारानी पछिल्लो समयमा आगन्तुकको आकर्षण बढेको आन्तरिक पर्यटन गन्तव्य हो । बेलबारीको फिल्म हल लाइन, नक्सल, बेलचौरी, बुधबारे, किरात चौक, लोखरा हुँदै राजारानी पुग्दा ९ किलोमिटर क्षेत्र तराई र तीन किलोमिटर क्षेत्र पहाडी क्षेत्र पर्छ ।

झन्डै आधा घण्टाको दुई पाङ्ग्रे सवारीमा राजमार्गबाट राजारानी पुग्न सकिन्छ । राजारानी ताल क्षेत्रमा केही वर्ष अगाडिसम्म स्तरीय होटेल थिएनन् । अहिले त्यो असहजता हटेको छ । स्थानीय युवाहरूको अगुवाइमा राजारानी दरबार इन नामको होटेल खोलिएको छ । राजारानी तालकै मुखमा होटेल खोलिएको छ । होटेल र तालको दूरी पाँच सय मिटर हाराहारी छ । 

यही वर्षबाट सञ्चालनमा आएको करिब ८० लाख लगानीको होटेलका सञ्चालकहरूमा दीपक श्रेष्ठ, अर्पन राई, नगेन्द्र मगर र मानसेर राई छन् । राजारानी क्षेत्रको प्रथम पर्यटक क्यास होटेलका सञ्चालक ३३ वर्षका अर्पण राईसँग होटेल सञ्चालन र सुविधा अनि अन्य पर्यटन क्षेत्रका विषयमा नेपाल टुरिजम प्लसका लागी विराट अनुपमले गरेको कुराकानीको सार: 

पेसाले शिक्षक तपाई कसरी राजारानीको प्रथम पर्यटक स्तरको होटेल सञ्चालन गर्न आइपुग्नुभयो? 

म पेसाले शिक्षक हुँ । पछिल्ला दुई वर्ष लेटाङको श्री भोगटेनी माविमा कम्प्युटर शिक्षकको रूपमा कार्यरत छु । पर्यटन मेरो सोखको विषय हो । नयाँ मान्छेसँगको कुराकानी र उठबस मलाई धेरै पहिलेबाटै राम्रो लाग्ने । त्यही भएर म पर्यटन क्षेत्रमा तानिएको हुँ । 

राजारानीमै होटेल सञ्चालनको बिचार कसरी आयो? 

यो क्षेत्रमा कुनै पर्यटक स्तरका होटेल थिएनन् । त्यो कुराले खोल्न हौसला दियो । अर्को कुरा, म होटेल क्षेत्रमा हाम्रो परिवारको तेस्रो पुस्ता हुँ । राई जेठा नामले चिनिने बाजे अर्जुनबहादुर राईले २०२४ सालमा लेटाङमा पाँच सात घर हुँदै होटेल चलाउनु भएको थियो । अहिले पनि लेटाङ बजारको मिलन चौकमा रहेको सुम्निमा होटेल मेरी श्रीमती आरती राई र आमा मनमाया राईले चलाइरहनु भएको छ । होटेल बारेमा थोरबहुत म जानकार नै हुँ । अरू उस्तै मन भएका साथीहरू मिलेर यो राजारानी दरबार इन्सम्मको यात्रा तय भएको हो । 

राजारानी दरबार इनको  मौलिकता के हुन्? 

हाम्रो मुख्य र रुचाइएको सेवा क्याम्पिङ हो । हाम्रो होटेलको कारण लेटाङ राजारानीमा क्याम्पिङको आकर्षण बढ्दो छ । राजारानी ताल किनारमा सञ्चालन हुने क्याम्प फायर हाम्रो मुख्य सेवा हो । मौलिकता पनि यही हो भन्न सकिन्छ । हामीसँग चार टेन्छ छन् । जोडी र समूह दुवैलाई हुने टेन्ट छन् । 

क्याम्पिङको सेवामा के के अट्छन् र सेवा शुल्क कस्तो छ? 

लेटाङ राजारानीमा क्याम्प फायर लोकप्रिय छः हामी २५ सयमै कपल टेन्ट बेच्छौँ । जोडी टेन्टको २५ सय र समूह टेन्टको ३५ सय छ । जोडी दुई जनाको प्याकेज हो भने समूहमा पाँच जना अट्न सक्छन् । यो शुल्क टेन्टको मात्रै हो जसमा आगो, सङ्गीत, एक जार पानी र बार्बिक्यू स्पेस आदि अट्छन् । खानाको थप पैसा लाग्छ । भेज खानाको प्रति व्यक्ति दुई सय रुपैयाँ छ भने मासु प्रति किलो सात सय र पकाएको सेवा शुल्क पाँच सय छ । दुई जना वा त्यो भन्दा बढी आएमा टेन्ट र खानपिन गर्दा दुई हजार हाराहारीमा एक जनालाई एक रातको प्याकेज पुग्छ । राजारानी पोखरीको किनारमा हुने भएकोले त्यसको बेग्लै मज्जा छ । सेवा राती दश बजेसम्म सुचारु हुन्छ । 

राजारानी क्षेत्रमा समुदाय स्तरमा भएका पर्यटन सेवा र आकर्षण के के छन्?

हाम्रो राजारानी क्षेत्र मूलतः मगर बस्ती भएको क्षेत्र हो । यहाँ केही घर राईका छन् । बाँकी सबै मगरका छन् । मगर समुदायको संस्कृति, परम्परा, नाच र अन्य चालचलन हेर्ने एक सुन्दर ठाउँ हो राजारानी । सुनाखरीको त राजधानी नै हो यो क्षेत्र । धेरै विद्यार्थी र अनुसन्धानकर्ता सुनाखरी हेर्न आउनुहुन्छ । होमस्टे यहाँको अर्को सेवा हो । पहाड र तराईको सम्मिश्रण भएको क्षेत्र भएकोले त्यहाँका खुराक यहाँ पाइन्छन् । 

सडक र बिजुलीको सेवा राम्रोसँग देखिन्छ । खानेपानीको अवस्था के छ? 

यहाँ पानीको सुविधा राम्रो छ । जरुवा खोला र झरनाबाट यहाँ पानी आउँछ । यहाँका मुख्य तीन मुहान छन् । त्यही मुहानहरू अँधेरी खोल्सी, कात्तिके खोल्सी, आरुबोटे आदि छन् । खानेपानीको कुनै समस्या छैन ।