खाँदबारीः  प्रदेश १ को चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ९ को एक पर्यटन क्षेत्र आगन्तुकहरू कुरिरहेको छ ।

लालिगुरास फूलले रंगिने सुन्दर डाँडामा रहेको यस दरबारे क्षेत्र पहाडी घुमघामको सुन्दर गन्तव्य भएपनि आगन्तुक कम आएको बताउँछिन् धर्मदेवीकै स्थानीय दीपा अधिकारी । अधिकारीका अनुसार भोजपुर देखी धनकुटा जिल्लाका क्षेत्र हुँदै अरुणको दृश्यावलोकनको लागी यो गन्तव्य राम्रो छ । 

स्थानीय सरकारले दरबारे क्षेत्रको विकास गर्न रेलिङजडित सिँढी बनाएको छ । ‘कङ्क्रिटको कुरूप भ्यूटावरहरु बनिरहेको समयमा यस्ता प्राकृतिक भ्यूटावरको सक्दो प्रवर्द्धन हुनुपर्छ’, अधिकारी भन्छिन्, ‘तर, यसको लागी आगन्तुकहरू पुग्न आवश्यक छ ।’

धर्मदेवी नगरपालिका वडा नम्बर ४ माम्लिङबाट आँखिुभुइ, बिहीबारे सडक हुँदै ९ किलोमिटर दुरीमा दरबारे क्षेत्र पुग्न सकिन्छ । आधा घण्टा दुई पाङ्ग्रे र आधा घण्टा पैदल गरेर एक घण्टाको समयमा आरामसँग दरबारे क्षेत्रको गन्तव्य पुगिने स्थानीय अधिकारीले बताइन् ।