इटहरी: कोभिड–१९ ले थलिएको प्रदेश १ को पर्यटन बजारमा चहलपहल ल्याउन निजी क्षेत्र, नेपाल पर्यटन बोर्ड र धरान स्थानीय सरकारको साझा पर्यटन उत्सव इस्ट टुरिजम मार्च धरानमा शुक्रवार उद्घाटन हुने भएको छ ।

तीन दिने प्रदेश १ को सबैभन्दा ठुलो पर्यटन उत्सव शुक्रवार सुरु भएर आइतबारसम्म धरान १२ को पब्लिक स्कुलको खेलमैदानमा हुने आयोजकले जानकारी दिएको छ । 

सन २०१८ मा पहिलोपटक आयोजना भएको इस्ट टुरिजम मार्टको दोस्रो संस्करण सन २०१९ मा भएको थियो । सन २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउन निकै मेहनत गरिएको सन २०१९ को मार्टको प्रभाव देखिनु अगाडिमै कोभिड–१९ महामारी देखिन थाल्यो ।

त्यसपछि भ्रमण वर्ष मात्रै रोकिएन मार्टको नियमित ऋङ्खला पनि रोकियो । त्यसैले सन २०१९ को दोस्रो संस्करण सकिएको तेस्रो वर्षपछि मात्रै तेस्रो संस्करण शुक्रवार हुने भएको छ । 

मार्टमा धरान जेसिसको समेत सहयोग हुने आयोजकको तर्फबाट अध्यक्ष भविषकुमार श्रेष्ठ तथा सचिव एलिना मगरले जारी गरेको प्रेस रिलिजमा भनिएको छ । जेसिसले स्थानीय मौलिक देखी अन्तर्राष्ट्रिय खानाहरूको परिकार पस्कने खाद्य उत्सव आयोजना गर्नेछ । 

तीन दिनसम्म चल्ने मार्टमा एक सय वटा देशीविदेशी पर्यटन स्टलहरू हुनेछन् भने नेपाल तथा भारतबाट आएका दुई सय पाहुना धरान ओर्लने आयोजकको भनाई छ । मार्टका अवलोकनकर्ताहरू भने हजारौँ हुने आयोजकको अपेक्षा छ ।