इटहरी: विश्वका धेरै देशहरू कम पर्यटक आएर पर्यटक तान्न मरिहत्ते गरिरहेका छन् । युरोपेली मुलुक इटालीको एक पर्यटकीय सहर भेनिसले भने ज्यादै पर्यटक आगमन अर्थात् ‘ओभर टुरिजम’ रोक्न सहर प्रवेशको कर लिने भएको छ । 

कोभिड–१९ को बन्देज बाहेकका दिनमा दैनिक लाखौँ पर्यटकहरू आएर स्थानीयको दिनचर्यामा असर गरेको भन्दै भेनिसले यस्तो नियम लगाउने भएको हो । अमेरिकन पर्यटन म्यागजिन ‘अफार’का अनुसार हरेक पर्यटकबाट ६ देखी ९ अमेरिकी डलर प्रवेश शुल्क लिने प्रस्ताव आएको छ । यो नियम दिउँसो आएर फर्कने पर्यटकको लागी मात्रै हुनेछ । भेनिसमै रात बिताउनेहरूलाई भने यो नियम नलाग्ने अफारले उल्लेख गरेको छ । 

अत्यधिक पर्यटकको चाप रोक्न कर लाउने योजना भेनिस सहरका मेयर लुइजी ब्रुनयारोले सबैभन्दा पहिलोपटक सन २०१८ मा प्रस्ताव गरेका थिए । पछिल्ला तीन वर्ष देखि भेनिसमा रहेका पूर्व रेडियोकर्मी सञ्जीव भट्टका अनुसार भेनिस सहरको समग्र घुमघाम गर्न तीन दिन हाराहारी लाग्छ । भेनिस सहरको सुन्दरताको बारेमा नेपाल टुरिजम प्लससँग कुरा गर्दै भट्ट भन्छन्, ‘एक्लै हिँडेर पनि कहिल्यै नथाकिने सहर हो भेनिस । म आफैँ धेरै पटक एक्लै घुम्न गएको छु ।’
Sanjib BHatta nepaltourismplus.com birat anupam Itahari