मोराहाङः माघ १ अर्थात् माघे सङ्क्रान्तिमा वैदिक सनातनधर्मिहरु मकर नुहाउने गर्छन् । प्रदेश १ मा मकर नुहाउन सुनसरीको वराहक्षेत्र देखी झापाको कन्काइको नाम ज्यादा चर्चामा छ ।

त्यस्तै मकर नुहाउने तेह्रथुमको मेन्छ्यायेम गाँउपालीकामा रहेको गौखुृरी धाम भने प्रदेश १ का चर्चित मकर स्नानको सूचिमा लगभग गुमनाम छ भन्दा हुन्छ । 

तेह्रथुमका स्थानीय बाहेक गौखुरीको प्रताप पुग्न नसकेको बताउँछन् गौखुरीको सांस्कृतिक पक्षका बारेमा जानकार स्थानीय टिकाराज प्याकुरेल । तेह्रथुमको मेन्छ्यायेम गाँउपालीकाको वडा नम्बर ५ (साबिक मोराहाङ गाविस) र  वडा नम्बर १ (साबिक पौठाक गाविस)को सिमाना भएर बग्ने खोरुङ्गा खोलाको दुई तर्फ छ गौखुरी धाम ।

वडा नम्बर ५ तर्फ गौखुरी छ भने १ नम्बरमा भकारी । गौखुरी र भकारी दुवैमा खोरुङ्गामा स्नान गरेर गरिने पूजाआजा नै गौखुरीको मकर स्नान हो । 

दुई वडामा फैलिएको धाममा अधिकांश गतिविधिहरू वडा पाँचमै हुने बताउँछन् अध्यक्ष शिवनाथ खापुङ । गाँउपालीकाले गौखुरी धाम विशेष मेला लाग्ने भएकोले स्थानीय विदा पनि दिँदै आएको छ । 

गौखुरी तेह्रथुमको प्रसिद्ध बजार जिरिखिम्तीबाट सडक दूरीमा ११ किलोमिटर तथा गाँउपालीकाको मुकाम मोराहाङ बजारबाट ३ किलोमिटर दूरीमा रहेको छ ।  सामान्य दुई पाङ्ग्रे सवारी र फोरह्विल गाडीहरू धाम क्षेत्रसम्म पुग्न सक्छन् ।

कोभिड–१९ महामारी आउनु अगाडि सम्म गौखुरी धामको मकर स्नान ताका माघेनी मेला लाग्दै आएको थियो । मेलामा विभिन्न व्यापार देखी खेलकुदका कार्यक्रमहरू हुँदै आएका थिए ।