इटहरी: इटहरीका प्राकृतिक गन्तव्य भन्नासाथ तालतलैया भन्ने चलन छ । लोकप्रिय पनि तालतलैया नै छ । इटहरीमै भएको सुन्दर भान्से पोखरी भने उतिसारो चर्चामा छैन ।

इटहरी बजार क्षेत्रबाट केही टाढा भएको र साबिक इटहरीको भाग नभएकोले यस्तो भएको हुनसक्छ । मूलतः प्रचार र पूर्वाधार अभावमै भान्से पोखरीले पाउनुपर्ने जत्ति चर्चा नपाएको सत्य हो । 

इटहरी वडा नम्बर १८ मा छ भान्से पोखरी । झन्डै पाँच बिगाहा क्षेत्रफलमा फैलिएको आकर्षक पोखरी हो यो । पोखरी नजिकै शिवालय बनाइएको छ । स्थानीय थारुको संस्कृतिसँग जोडिएको पोखरी हो भान्से पोखरी । 

 भान्से पोखरी ठुलो भएकैले यहाँ माछा उत्पादन पनि राम्रै हुन्छ । स्थानीय सरकारले माछा उत्पादनमा ठेक्का समेत लाउने गर्छ । भान्से पोखरी पुग्न इटहरी पश्चिम लाइनमा रहेको सशस्त्र प्रहरी बलको प्रदेश १ को मुख्यालयबाट पश्चिमतर्फको सडकमार्ग हुँदै पुग्न सकिन्छ । ढिलो यात्रा गर्दा  १५ मिनेटको  सवारी दूरीमा पोखरी पुग्न सकिन्छ ।