इटहरी: धरानको बुढासुब्बा मन्दिरका बाँसमा कुनै बेला प्रेमी प्रेमीकाका नाम खोप्ने चलन थियो । टुप्पो बिनाको बाँसमा खोपिएका नामले बाँसलाई समस्या पारेपछि अहिले नाम खोप्न निषेध छ । त्यसको सट्टामा जोडी धागो बाँध्ने प्रचलन आएको छ । प्रेमी प्रेमिकाका इच्छाहरू पुरा गर्न तथा प्रेम सफल बनाउन यस्तो गर्ने प्रचलन छ । 

बुढासुब्बाकै जस्तो झल्को आउने संस्कृति जापानमा पनि छ । त्यसको नाम हो इमा संस्कृति । इमा भनेको जापानको बुद्ध तथा सिन्तो नामक धर्म संस्कृति मान्ने समुदायले मन्दिरहरूमा आफ्ना इच्छा लेखेर झुन्ड्याउने चलन हो  ।

इमा भनेको जापनिज भाषामा घोडाको तस्बिर भन्ने अर्थ लाग्छ । यसको प्रचलन आठौँ शताब्दीताका घोडा बलि दिने चलनको विकसित रूप इमा हो । एक इमा लेखेर झुन्ड्याएको चार अमेरिकी डलर लाग्ने नेसनल जियोग्राफिक म्याजागिनले उल्लेख गरेको छ ।