इटहरीः भेडेटार बजारको उचाई १४२० मिटरमा छ । तर, त्यो भन्दा अग्लो डाँडो धरानमै पर्छ । त्यो डाँडो हो सुलिकोट । धरान २० विष्णुपादुका क्षेत्रमा रहेको सुलिकोट समुद्र सतहबाट १४६७ मिटर उचाईमा छ । धरानको वीपी पार्क, चिन्डे डाँडा,  टोड्के भ्यू टावर हुँदै जान सकिन्छ सुलिकोट । सुलिकोटबाट भेडेटारबाट देखिने हिम ऋङ्खलाहरु सहज देखिन्छन् । 

धरानको फुसे्रबाट ढिलो हिँड्दा चार घण्टामा सुलिकोट पुग्न सकिन्छ । सवारीबाट जान चाहानेहरुले सुकिकोटको आधार शिविर सम्म सहजै पुग्न सकिन्छ । बाटो धुलौटे छ । बर्खाको समयमा सुलिकोट पुग्न जुकासँग डराउनेहरूलाई धेरै गाह्रो पर्छ । सुलिकोट प्राचीन समयमा अपराधीलाई सुलिमा चढाउने ठाउँ भएको स्थानीय पाकाहरू बताउँछन् ।

धरान स्थानीय सरकारको पर्यटन प्रवर्द्धन समितिमा सहसंयोजक तथा खोकूँ छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा गीतका जनगायक किशोर थुलुङका अनुसार सुलिकोट धरानको एक उत्कृष्ट प्राकृतिक भ्यू टावर हो । सुलिकोटमा पूर्वाधार र होटलहरु भने छैनन् । आगन्तुकहरूले आफै खाजा पानी बोक्नुपर्ने हुन्छ ।