धरान: सामाजिक सञ्जालमा तस्बिर राख्दा सङ्खुवासभा बाहेककाले स्विजरल्यान्डमा वा युरोपको कुनै सुन्दर चौर भनेर धेरै झुकिन्छन् । सुन्दर चौर ।

चौरमा चरिरहेका गाईबस्तु । अनि, आसपासमा उभिएका सुन्दर साना पहाड । मनमोहक दृश्य । यस्तै गुणहरूले भरिपूर्ण छ सङ्खुवासभाको दुःखी डाँडा । भन्नमा दुःखी डाँडा भनिए पनि यो क्षेत्र भ्रमण गर्दा सुखद अनुभूति हुन्छ । 
धरान, हिले, पख्रिबास, लेगुवा, अक्करको भिर हुँदै तुम्लिङटार पुग्नु भन्दा बीस मिनेट अगाडि आउँछ यो सुन्दर दृश्य । सवा खोला पुग्नु भन्दा पाँच किलोमिटर अगाडिको सातटारे क्षेत्रबाट सडक भन्दा केही भित्र छ यो क्षेत्र ।

कुनै व्यवस्थित गरिएको गल्फ कोर्स जस्तो लाग्ने यो क्षेत्रमा आफू पहिलोपटक पुगेको बताए धरानका युवा कुन्दन अधिकारीले । उनले भने, ‘यो ठाउँ धेरै मनमोहक लाग्यो ।’

कुन्दनसँगै पुगेकी दीपा अधिकारी समेत उक्त ठाउँको सुन्दरताले मन्त्रमुग्ध भएकी छिन । उनी भन्छिन्, ‘सङ्खुवासभामा पनि यस्तो ठाउँ रहेछ  । अत्यन्तै सुन्दर लाग्यो ।’ सडकबाट पाँच सय मिटर हाराहारीमा रहेको दुःखी डाँडामा खानेपानीको श्रोत भने नभएको भन्दै उनले आफै लिएर जान घुमन्तेहरूलाई सिफारिस गर्छिन् ।