इटहरी:  एसियाको लोकप्रिय तथा नेपालीहरूले धेरै भ्रमण गर्नेमध्येको एक गन्तव्य थाइल्यान्डले अब पर्यटकबाट शुल्क उठाउने भएको छ । आगामी वर्ष २०२२ बाट यो नियम लागु हुने थाइल्यान्ड सरकारले जानकारी दिएको छ ।

 सन २०२२ बाट हरेर पर्यटकबाट १४ अमेरिकी डलर पर्यटन शुल्क लिइने थाइल्यान्डको प्रसिद्ध अखबार बैंकक पोस्टले उल्लेख गरेको छ । पोस्टका अनुसार थाइल्यान्ड सरकारको पर्यटन क्षेत्र हेर्ने निकाय टुरिजम अथोरिटि अफ थाइल्यान्डका प्रमुख युथासाक सुपाासोर्नले यस्तो जानकारी दिए । हरेक पर्यटकबाट पाँच सय भाट लिइने भएको छ । जुन १४ अमेरिकी डलर बराबर हुन आउँछ । 

सन २०२२ मा एक करोड विदेशी पर्यटकहरू थाइल्यान्ड आउने अनुमानको साथ पाँच अर्ब भाट उठाउने थाइल्यान्ड सरकारको लक्ष्य छ ।  पर्यटन शुल्कबाट थाइल्यान्डको पर्यटन क्षेत्रको वातावरण तथा अन्य महत्त्वपूर्ण क्षेत्रका पूर्वाधारमा खर्च गर्ने थाइल्यान्ड सरकारले बताएको छ । 

पर्यटन क्षेत्रमा सुविधा दिने सर्तमा पैसा उठाउनु राम्रो भएको बताउँछन् केही वर्ष अगाडि थाइल्यान्ड पुगेर आएका नेपाली युवा सन्तोष निरौला । उनी भन्छन्, ‘नेपालीलाई भारत पछिको तेस्रो मुलुकमा सबैभन्दा सहज र सस्तो गन्तव्य थाइल्यान्ड हो । यो नियमले हजारौँ नेपालीलाई पनि प्रभाव त पर्छ । तर, यो गलत छैन ।’