सोलुखुम्बु: नेपालको सबैभन्दा अग्लो ट्रेकिङ पिक मेरा पिकमा आज नेपाल माउन्टेन अक्याडेमीका विद्यार्थी,प्रशिक्षक तथा अन्य व्याक्तित्वहरुले अध्ययन आरोहण गर्ने भएका छन ।

पर्वतारोहण सम्बन्धिको विश्वकै पहिलो स्नातक कोर्ष बिएमएस प्रथम वर्षका विद्यार्थीहरु सहित अक्याडेमीको टोली अध्ययन आरोहणमा छ । पन्ध्र विद्यार्थी सहित आरोहण दलमा एक्याडेमिक सुपरभाइजर डाक्टर बसन्त पौडेल, कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई  र प्रशिक्षकहरु छिरिङ जाङ्बु शेर्पा, लाक्पा राङडु शेर्पा र हरेराम खड्का सहभागी छन । 

विद्यार्थीहरु पछिल्लो तीन हप्ता यता मेरा पिक क्षेत्रमा अध्ययनमा रहेको प्रशिक्षक छिरिङ जाङ्बु शेर्पाले बताए । त्रिभुवन विश्वविद्यालयबाट २०७४ माघ १० बाट सम्बन्धन लिएर नेपाल माउन्टेन अक्याडेमीले २०७५ कार्त्तिकबाट बिएमएसको पढाइ सुरु गरेको थियो ।

त्यहि प्रथम ब्याचका विद्यार्थी सहित अध्ययन आरोहणमा मेरा पिक पुग्ने नेपालको मात्रै हैन विश्वकै प्रथम विश्वविद्यालयको अध्ययन आरोहण हो आजको अध्ययन आरोहण कार्यक्रम ।