इटहरीः विश्वका सबैभन्दा सुन्दर बीस देशको सूचिमा दक्षिण एसियाका तीन देश पर्दा नेपाल सूचिमा अटाएन ।
बेलायतको प्रसिद्ध पर्यटन प्रकाशन कोन्डे नास्ट ट्राभलरले सन २०२० मा आफ्ना विश्वभरका पाठकहरुमाझ गरेको अनलाइन मतदानले नेपालले शिर्ष बीसमा राख्न सकेन ।

इटाली विश्वको सबैभन्दा सुन्दर देश भनेर सूचिकृत भएकोमा दक्षिण एसियाबाट भारत बीसौँ, भुटान बाह्रौ र श्रीलंका दोश्रो स्थानमा बस्दा नेपाल सूचिमै अटाएन । यस्तै सन २०१९ को सूचिमा पनि नेपाल अटाएको थिएन । सन २०१९ मा सबैभन्दा सुन्दर देशको नाम इन्डोनेसियाको आएको थियो ।

दक्षिण एसियाबाट त्यो सूचिमा पनि श्रीलंका अटाएको थियो । सन २०१९ मा श्रीलंका विश्वको चौथौँ सुन्दर देशको रुपमा सूचिकरण भएको थियो । 

२०२० नेपाल भ्रमण वर्षको रुपमा विश्वभर प्रचार प्रयास भएका थिए । त्यो प्रचारले पनि नेपाललाई विश्वका बीस सुन्दर देशको सूचिमा पार्न सहयोग नगरेको पाइएको धरानका पर्यटन उद्यमि तथा अभियानकर्मी बासुदेव बराल बताउँछन ।

उनी भन्छन, ‘नेपाललाई हामीले सुन्दर भनेर मात्रै भएन । नेपाल आएकाले सुन्दर भनेर मात्रै भएन । विश्वभरका आगन्तुकहरुमा त्यो प्रभाव हुनुपर्छ ताकि हामी सधै शिर्ष बीस स्थानमा बस्न सकौँ ।’