काठमाण्डौः  पर्यटनका विभिन्न विधाहरूमा अहिले चर्चाको विधा हो अन्तरिक्ष पर्यटन । अन्तरिक्ष पर्यटन अर्थात् रकेटबाट गुरुत्वाकर्षणबिहिन अन्तरिक्ष पुग्ने । रमाइलो गर्ने र फर्केर आउने । 

अन्तरिक्ष पर्यटनको सुरुवात सन २००१ बाट भएको थियो । र प्रथम अन्तरिक्ष पर्यटक भए डेनिस टिटो । अमेरिकी नागरिक उनले सन २००१ को अप्रिल महिनामा रुसलाई ३ करोड डलर तिरेर अन्तरिक्ष पुगेका थिए । अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त अवसर नदिएपछि उनी रुस पुगेका थिए । आठ दिन अन्तरिक्षमा पैसा तिरेर पुगेका टिटो नै पहिलो अन्तरिक्ष पर्यटक हुन । त्यो भन्दा अगाडि र पछि पनि पैसा तिरेर जानेहरू थोरै छन् । 

अमेरिकी, रुसी र चिनियाँहरू सरकारी र सैन्य मिसनबाट सरकारी पैसामै अन्तरिक्ष पुग्दै आएका छन् । अहिलेसम्म एक दर्जन हाराहारी मात्रै अन्तरिक्ष पर्यटक भएका छन् । 

अन्तरिक्ष पर्यटक बन्न अब नेपालीलाई पनि धेरै असहज छैन । तर, पैसा तिर्न सक्ने दक्षता भने हुनुपर्छ ।  अब केही बर्समै अमेरिकी अर्बपतिहरु एलन मक्सको स्पेसएक्स र जेफ बेजोसको ब्लू ओरिजिन हुँदै बेलायती अर्बपछि रिचर्ड ब्य्रान्सनको भर्जिन ग्यालेक्टीकले अन्तरिक्ष पर्यटनको सेवा दिदैछन । जसको परीक्षण स्वरूपमा गत जुलाई ११ (असार २७) मा बेलायती अर्बपछि ब्य्रान्सन आफै अन्तरिक्ष पुगेर आए । 

अमेरिकी राज्य न्यू मेक्सिको बाट उनी अन्तरिक्ष आफ्नै कम्पनीको रकेडबाट पुगेका थिए । उनी एक घण्टाको यात्रा गरेर फर्किए । समुन्द्र सतहबाट ८५ किलोमिटर माथि पुगेर उनी बिहान ९ः४० मा  आएको अलजजिराले उल्लेख गरेको छ । जेफ बेजोस पनि अगाडि जुलाई २० (सावन ४) मा अन्तरिक्ष जाँदैछन्। उनी समुन्द्र सतहबाट १०० किलोमिटर क्षेत्रमा पुगेर आउने योजनामा छन् । 

एलन मक्स भने अन्तरिक्ष जाने तत्काल कुनै तयारीमा नभएको विश्व मिडियाहरूले लेखेका छन् । 

सर्वसाधारणलाई अन्तरिक्ष पर्यटक भएको शुल्क कति हो भन्नेमा मक्स र बेजोसका कम्पनीले बोलेका छैनन् । बेलायती अर्बपछि ब्य्रान्सनको कम्पनीले भने २ लाख ५० हजार अमेरिकी डलर तोकेको छ । सन २०२२ देखि सुरु हुने अन्तरिक्ष पर्यटकले अहिलेदेखि बुकिङ थालेको अन्तरिक्ष सम्बन्धी समाचार लेख्ने पोर्टल स्पेस डटकमले लेखेको छ । 

२  लाख ५० हजार अमेरिकी डलर भनेको नेपाली रुपैयाँमा दाँज्दा २ करोड ९७ लाख हाराहारी हुन्छ । अर्थात् तीन करोड । तीन करोड रकम खर्च गर्न सक्नेले अब निकट भविष्यमा अन्तरिक्ष पर्यटक हुने सौभाग्य पाउनेछन् । अझ अहिले देखिएका तीन अन्तरिक्ष पर्यटनका कम्पनीहरू र नयाँ कम्पनी बजारमा आएमा शुल्क प्रतिस्पर्धात्मक र सस्तो हुन सक्छ । 

स्विजरल्यान्डको लगानी बैङ्क युबिएसका अनुसार सन २०३० सम्म अन्तरिक्ष पर्यटन बजारको आयतन बर्षिक ३ अर्ब डलरको हुनेछ । 

अन्तरिक्षमा पहिलो मानव यात्रा ६० बर्ष अगाडि सन १९६१ को अप्रिल १२ मा  रुसी अन्तरिक्ष यात्री युरि गागरिनले गरेका थिए । त्यसको ८ बर्सपछि त पहिलो मानव पाइला चन्द्रमामै पुगेको थियो । सन १९६९ जुलाई २० मा अमेरिकाका निल आर्मस्ट्रङ र बज एल्ड्रीनले चन्द्र सतहमा प्रथम मानव उपस्थिति जनाएका थिए ।