धरानः सात वर्ष अगाडिबाट चर्चामा आएको थियो ‘ग्रिन इस्ट’ नामक प्रदेश १ को पर्यटन प्याकेज । पछिल्लो समयमा ओझेलमै परेको थियो । 

तर, बिहीबार सम्पन्न धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रमले ‘ग्रिन इस्ट’को स्वामित्व लिएको छ । यसको प्रबद्र्धनको लागी केही काम गर्ने स्थानीय सरकारले बताएको छ । 

काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी आदि जोड्ने विभिन्न पर्यटकीय ट्रयांगलहरु छन् । तर, पूर्वमा संस्थागत रूपमा कुनै त्यस्तो नभएको अवस्थामा २०७२ मा पर्यटनकर्मिहरुले विकास गरेको ट्रयांगल हो ‘ग्रिन इस्ट’ । 
धरानले यसको स्वामित्व लिएपछि पर्यटन वृत्तमा सकारात्मक प्रतिक्रिया आएको छ ।

धरानका चर्चित पर्यटनकर्मी वासुदेव बराल लेख्छन्, ‘पूर्वको पर्यटनमा धरान नेतृत्वदायी अभिभावक बन्न सक्षम छ । अब यस (ग्रिन इस्ट)को प्रवर्द्धन र धरान इलाम तथा ताप्लेजुङबिच यस विषयमा वृहत् छलफल एवम् सहकार्य गर्ने कार्य धरानले सुरु गर्नुपर्छ ।’

इटहरीका पर्यटन व्यवसायी जीवन पराजुली पनि धरानले गरेको निर्णयबाट उत्साहित छन् । उनी भन्छन्, ‘ग्रिन इस्टलाइ अब गन्तव्य देखी ट्रान्जिट सबै पर्ने क्षेत्रहरूका स्थानीय सरकारहरू सबैले अपनत्व लिएर अगाडि बढ्नुपर्छ । बाह्य पर्यटन क्रमशः हुन्छ । सुरुमा आन्तरिकमै ध्यान दिनुपर्छ ।’