उदयपुरः सुनसरीको चतरा र उदयपुरको सिमानामा छ कोसी नदिको मोटर गुड्ने पुल । सोही पुलबाट करिब १५ किलोमिटर यात्रामा आउँछ सुपाडे बजार । सुपाडे बजारबाट ३ किलोमिटर  मात्रै भित्र छ भुतिया दह । भूतसँग जोडिएर बनेको डरलाग्दो बिम्ब भएपनि बेलका नगरपालिका वडा नम्बर ५ मा पर्ने यो दह पुग्न त्यस्तो डरलाग्दो कुरा केही छैन ।

३५ फिट गहिरो दह पुग्न करिब एक किलोमिटर हाराहारी पैदल हिँड्नुपर्छ । भित्रिमधेशको सुन्दर भूगोलमा यात्रा गर्दै पुगेर भेटिने दह साँच्चिकै सुन्दर छ ।  पौडी खेल्न, नुहाउन र टीकटक बनाउन धेरैले यो दह रोज्न थालेका छन् । चुरे राजमार्ग नजिकैको गन्तव्य भएकोले राजमार्गमा सवार यात्रुहरूले समेत भुतिया दहलाइ गन्तव्य बनाउन थालेका वडा अध्यक्ष गोविन्द कुमार खड्का बताउँछ ।

खड्काका अनुसार राजमार्ग बन्नु अगाडि गुमनाम दह अहिले धेरैको चासो बनेको छ । चासो आगन्तुकको मात्रै छैन । स्थानीय सरकारको पनि छ । स्थानीय सरकारले भुतिया दह क्षेत्रको सौन्दर्यीकरण र पूर्वाधार निर्माणमा आवश्यक सात करोडको डिपिआर बनाएको अध्यक्ष खड्काले बताए । खड्काका अनुसार बेलकाको पर्यटन समितिले दहको प्रबद्र्धनमा धेरै सक्रियता देखाएको छ ।