इटहरीः प्रदेश १ को प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा  २८ वटा ढुङ्गामा मूर्तिहरू छन् । त्यसमा सबैभन्दा धेरैको ध्यान ढुङ्गाको मुटुमा पुग्छ । तर, कसले बनाएको हो यो मूर्ति? 

मूर्ति बनाउने कलाकार हुन तान्या प्रेमिन्जर । उनी सोभियत संघमा सन १९४४ मा जन्मेकी र हाल इजरायलमा बस्ने कलाकार हुन । उनी २०७२  माघ ९ देखी १८ दिन सञ्चालन भएको ‘एकता अन्तर्राष्ट्रिय मूर्तिकला गोष्ठी’मा सहभागी हुन इटहरी आएकी थिइन ।

नेपाली कलाकार राम पण्डित समेतको सहयोगमा उनले यो मूर्ति तयार पारेकी हुन । हाल ७७ वर्ष  उमेरकी तान्या ३७ देश घुमेकी छिन । नेपालमा इटहरीको तालतलैया बाहेक उनी बागलुङको मूर्ति कार्यशालामा समेत सहभागी भएकी छिन । इटहरी भने उनको प्रथम नेपाल आगमन भएको भेन्यु हो । तान्याले अहिलेसम्म २४२ गोष्ठी, प्रतिस्पर्धा तथा प्रदर्शनिहरुमा भाग लिएकि छिन भने ३७ पटक उनी पुरस्कृत समेत भएकी छिन ।