सत्ता बदलिन्छ, अनुहार फेरिन्छ, तर पर्यटनको बागडोर उही समूहकै हातमा रहिरहन्छ। परिणामस्वरूप पर्यटनको परिभाषा नै साँघुरो बनाइएको छ। दशकौँदेखि घुमफिर र होटल व्यवसायमै सीमित गरिएको यस क्षेत्रले आफ्नो वास्तविक आत्मा गुमाउँदै गएको छ।

सांस्कृतिक सम्पदा, अमूर्त धरोहर, रैथाने कला, संगीत, नाट्य तथा मौलिक जीवनशैली—यी सबै पर्यटनका मेरुदण्ड हुन्। तर यिनको संरक्षण र प्रवर्द्धनमा कुनै ठोस प्रयास देखिँदैन। सर्जक, विज्ञ र अनुभवी व्यक्तिहरूलाई किनारामा राखिएको छ।

आफ्नो मुलुकको लोककला, परम्परागत र रैथाने कला, जसले राष्ट्रिय गौरव र पहिचान बोकेका छन्, तिनलाई उपेक्षा गरिएको छ। यसको सट्टा प्लास्टिकका डाइनोसर, बनावटी संरचना तथा विदेशी फूलबिरुवाले पार्कहरू भरिएका छन्। हरेक वर्ष उही प्रकृतिका मेला, उही समिति र उही “विदेशी पाहुना” दोहोरिइरहेका छन्। बजेट खर्च भइरहेको छ, तर प्रभाव शून्यजस्तै छ।

ऐतिहासिक पोखरीहरू कङ्क्रिटले पुरिँदै गएका छन्, सिमसार क्षेत्र सुक्दैछन्, र मौलिक वास्तुकला हराउँदै गएको छ। पर्यटनका नाममा अनुशासनहीनता र कृत्रिमता मात्र बढाइएको छ।

न त पर्याप्त सूचना केन्द्रहरू छन्, न उद्धार (रेस्क्यु) सेवा, न व्यवस्थित गाइड प्रणाली। स्थानीय उत्पादनको प्रवर्द्धन छैन, धार्मिक स्थलहरू सफा छैनन्। आवश्यक सार्वजनिक शौचालयसमेत अभावमा छन्, भएका पनि प्रयोगयोग्य छैनन्।

यो अवस्था संयोग होइन; यो दशकौँदेखि एउटै सोच र समूहद्वारा नियन्त्रण गरिएको संरचनाको परिणाम हो।

अब समय आएको छ—पर्यटनलाई पुनः परिभाषित गर्ने, मौलिकता जोगाउने, विषय विज्ञहरूलाई केन्द्रमा ल्याउने र दिगो तथा पहिचानमा आधारित नयाँ मार्ग रोज्ने। समयमै सचेत नहुने हो भने, हामीले आफ्नै पहिचान गुमाउँदै जानेछौं।